News

अनुराधा कोइराला ३ नम्बर प्रदेशको प्रमुख, को–को परे ? (नामावलीसहित)

अनुराधा कोइराला ३ नम्बर प्रदेशको प्रमुख, को–को परे ? (नामावलीसहित)

काठमाडौं । आज विहान प्रधानमन्त्री निवास वालुवाटरमा बसेको मन्त्रिपरिषद्को बैठक बिना निश्कर्ष टुंगिएको छ । प्रदेशप्रमुख, प्रदेशको अस्थायी मुकाम तोक्न बसेको बैठक थप गृहकार्य गर्ने भन्दै विना निश्कर्ष दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

३ बजे बस्ने बैठकले प्रदेश प्रमुखको टुंगो लगाउन सक्ने स्रोतले बतायो । स्रोतका अनुसार सरकारले दलीय भागवण्डाका आधारमा प्रदेश प्रमुखको नियुक्त गर्ने तयारी गरेको छ ।

सरकारमा रहेको कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा आधारमा प्रदेश प्रमुख नियुक्त गर्न लागेको हो । एक–एक जना फोरम र राजपाको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिने भएको छ भने ५ जना कांग्रेसको सिफारिसमा हुुने स्रोतले बतायो । 

कांग्रेसको सिफारिसमा प्रदेश १ मा गोविन्द सुब्बा, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख बनाउने तयारी छ । त्यस्तै प्रदेश २ मा राजपाको सिफारिसमा उमाकान्त झालाई र प्रदेश ५ मा फोरमको सिफारिसमा रत्नेश्वरलाल कायस्थलाई प्रमुख बनाउन तयारी छ ।

सुब्बा र खनाल कांग्रेसका पुराना नेता हुन् भने कोइराला माइती नेपालकी अध्यक्ष हुन् । कांग्रेसको सिफारिसमा परेका कुवर पूर्वमहान्यायाधिवक्ता हुन् भने मल्ल पूर्वराष्ट्रिय पञ्चायत सदस्य हुन् ।

त्यस्तै, राजपाको सिफारिसमा परेका झा खिलराज रेग्मी सरकारका मन्त्री हुनुका साथै राजपा अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरका सम्धी पनि हुन् ।
प्रदेश प्रमुखको नियुक्त नहुँदा निर्वाचन आयोगले मतपरिणाम घोषणा गर्न सकेको छैन । साथै प्रदेश प्रमुख विना प्रदेश सांसदले सपथ नलिइ राष्ट्रियसभाको निर्वाचन गर्न पनि संवैधानिक अड्चन रहेको छ । आयोग तीनसाता यता सरकारको निर्णयको पर्खाइमा रहेको छ ।

विशेष