प्यालेस्टाइन सहयोगमा ट्रम्पले अाधा हिस्सा कटौती गरे
वासिंटन । अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयोग रकमको आधा हिस्सा कटौती गरेको छ ।
संयुक्त राष्ट्रसंघको एउटा निकायमार्फत अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको सो रकम अमेरिकाले रोकेको हो । अमेरिकाको यस्तो कदमले संकटमा रहेका भनिएका लाखौं मानिसलाई असर गर्ने संयुक्त राष्ट्रसंघका एक अधिकारीले जनाएका छन् ।
अमेरिकाले प्यालेस्टाइनलाई सहयोग गर्दै आएको करिब १२ करोड ५० लाख अमेरिकी डलरमध्ये पहिलो किस्तास्वरुप दिनुपर्ने ६ करोड ५० लाख डलर रोक्ने निर्णय गरिएको जनाएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै उनीहरुलाई दिइँदै आएको सहायता रकम रोक्न सकिने खुलासा गरेका थिए ।
ट्रम्पले प्यालेस्टाइनीहरूले इजरायलसँगको शान्ति प्रयासलाई स्वीकार नगरेमा उसलाई दिइँदै आएको अमेरिकी सहायता कटौती गर्न सकिने जानकारी दिएका थिए। उनको सोही प्रस्तावअनुसार अहिले रकम कटौतीको निर्णय आएको हो ।
आइतबार गरिएको यस निर्णयपछि प्यालेस्टाइनी राष्ट्रपति महम्मुद अब्बासले राष्ट्रपति ट्रम्पको चर्को आलोचना गरेका थिए ।
गत डिसेम्बर ६ मा अमेरिकी राष्ट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा प्रस्ताव गरेपछि प्यालेस्टाइनीहरु सो निर्णयको खुलेर विरोध गरिरहेका छन् ।
राष्ट्रपति अब्बासले वर्ष २०१७ को अन्तिम महिनामा अमेरिकाले गरेको सो निर्णयपछि उसका कुनै पनि शान्ति योजनालाई आफूहरुले स्वीकार नगर्ने घोषणा गरेका थिए ।
संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी संस्थाहरु तथा अन्य निकायहरुले प्यालेस्टाइनी शरणार्थी तथा नागरिकहरूलाई पनि सहायता दिँदै आएका छन् । उनीहरुले स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेका छन् ।
सहायता रकम अमेरिकाले रोकेपछि ती कार्यक्रममा असर पर्ने बताइएको छ । यस विषयमा राष्ट्र संघको तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन ।