News

प्रहरी मुख्यालयको आदेश: सिलवाललाई जहाँ देख्यो त्यहीं पक्राऊ गर्नु !

प्रहरी मुख्यालयको आदेश: सिलवाललाई जहाँ देख्यो त्यहीं पक्राऊ गर्नु !

काठमाडौं । पूर्व डिआईजी एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई नियन्त्रणमा लिन प्रहरी प्रधान कार्यालयले देशभर पत्राचार गरेको छ । बुधवार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले सातओटै प्रदेश प्रहरी कार्यालयलाई पत्र लेखी सिलवाललाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा उपस्थित गराउन निर्देशन दिएको हो ।

सिलवाल नेकपा एमालेबाट प्रतिनिधसभा सदस्यमा निर्वाचित सांसद हुन् । सिलवाललाई सरकारी काजजात किर्ते मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न देशैभर पत्रचार गरिएको हो ।

अपराध अनुसन्धान विभागका इन्स्पेक्टर मदन कुँवरले हस्ताक्षर गरेको पत्रमा भनिएको छ,‘भूपू प्रनामनी नवराज सिलवलालाई खोजतलास गरी फेला परेमा महनगरीय प्रहरी परिसर, काठमाडौंमा उपस्थितिका लागी जानकारी गराउनुहुन निर्देशानुसार अनुरोध गरिएको छ ।’

यसअघि काठमाडौं प्रहरीमा दर्ता भएको मुलुकी ऐन किर्ते कागजको महल अन्तर्गतको सरकारी कागजात किर्ते मुद्धा अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्न भन्दै काठमाडौं प्रहरीले सिलवाललाई पक्राउ गरेर बुझाउन ललितपुर प्रहरीलाई गएको पुस १८ गते पत्राचार गरेको थियो ।

ललितपुरको गोदावरी स्थायी ठेगाना भएका सिलवाल आफ्नो घर ठेगानामा फेला नपरेको भन्दै लतिलपुर प्रहरीले जवाफी पत्र पठाएसँगै काठमाडौं प्रहरीले उक्त कुराको जानकारी प्रहरी प्रधान कार्यालयलाई गराएको थियो ।

 

Nawaraj Silwal

विशेष