विदेश

ट्रम्पले गरे ‘फेक न्यूज एवार्ड’ घोषणा, हेर्नुहोस् को भए विजेता

ट्रम्पले गरे ‘फेक न्यूज एवार्ड’ घोषणा, हेर्नुहोस् को भए विजेता

वासिङ्गटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेक न्यूज एवार्डको घोषणा गरेका छन् । बुधवार उनले आफ्नो ट्वीटर एकाउन्टबाट एवार्ड घोषणा गर्दै न्यूयोर्क टाइम्सलाई विजेता बनाएका छन् । साथै ट्रम्पले एबीसी न्युज, सीएनएन, टाइम र वासिङ्गटन पोस्टलाई पनि एवार्ड मिलेको उल्लेख गरेका छन् ।

फेक न्यूज एवार्डका लागि लामो समयदेखि अमेरिकी नागरीक प्रतिक्षा गरिरहेका थिए । पहिले यो अवार्डलाई ८ जनवरीमा निर्णय गरिता पनि ट्रम्पले यसलाई सारेर १७ जनवरीमा सार्वजनिक गरेका हुन् ।

उनले फेक न्यूज घोषणा गरेको समाचार जिओपी डटकमले प्रकाशित गरेको । विजेताको नाम सार्वजनिक गर्ने वेबसाइट जिओपीको केही समय सर्वर डाउन भएको थियो ।

अमेरिकाको राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेदेखिनै ट्रम्पबारे लेखिएका ९० प्रतिशत समाचार नकारात्मक कोणबाट लेखिएको जिओपी डटकमले उल्लेख गरेको छ ।

‘२०१७ मा लगातार लगातार भेदभावपूर्ण र अनुचित खबर सार्वजनिक गर्नेको बोलवाला रह्यो ।’ जिओपी डटकमले अगाडि लेख्छ, ‘अध्ययनबाट पत्ता लागेको तथ्य के हो भने ट्रम्पबारे लेखिएका ९० प्रतिशत समाचार नकारात्क कोणबाट लेखिएका थिए ।’

वेबसाइटले विजेताको सूचीसँगै सम्बन्धित समाचार र पत्रकारको पनि जिकिर गरेको छ । न्यूयोर्क टाइम्सका रिपोर्टर पल क्रुगम्यानको समाचार ट्रम्पको फेक न्यूजको सूचीमा शीर्ष स्थानमा छ । यो समाचार ट्रम्पको ऐतिहासिक जीतको दिन छापिएको थियो । जुन समाचारमा ट्रम्पको पालामा अमेरिकाको अर्थतन्त्र कहिल्यै उँभो नलाग्ने जिकिर गरिएको थियो ।

एबीसी न्युजका ब्रायन रोज सूचीको दोस्रो नम्बरमा छन् । उनले आफ्नो समाचारमा ट्रम्प प्रशासन रहुन्जेल अमेरिकी अर्थतन्त्र खुम्चिने मात्र नभई धेरै तीब्र गतिमा ओरालो लाग्ने जिकिर गरिएका थिए ।

सीएनएन तेस्रो नम्बरमा रहेको छ । उसले आफ्नो रिपोर्टमा भनिएको थियो, ‘राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प र उनका छोरा जुनियर ट्रम्पसँग विकीलिक्सबाट ह्याक गरिएको डकुमेन्ट थिए ।’

त्यस्तै ट्रम्पको फेक न्युज एवार्डको सूचीको चौथो नम्बरमा टाइम म्यागेजिन रहेको छ । उसले गलत रिपोर्ट प्रकाशित गरेको आरोप छ । जसमा भनिएको थियो, ‘राष्ट्रपति ट्रम्पले ओभल अफिसबाट मार्टिन लुथरको मूर्तिलाई हटाए ।’

अर्को विश्वचर्चित पत्रिका वासिङ्गटन पोस्टले पनि राष्ट्रपति ट्रम्पको एक जुलुसको बारेमा गलत समाचार लेखेको आरोप लागेको थियो ।

वेबसाइटमा गरिएको दाबी अनुसार सञ्चारमाध्यमले भने जस्तो नभइ ट्रम्प प्रशासनको पालामा अमेरिकी अर्थतन्त्र फैलिइरहेको छ । वेबसाइटले आफ्नो समाचारमा ट्रम्प प्रशासनले अमेरिकामा २० लाख नयाँ रोजगारी सिर्जना गरेको समेत उल्लेख गरेको । वेबसाइटले अमेरिकाले ८ ट्रिलियन डलर (करिब १०२ लाख करोड) रुपैयाँ मुनाफा कमाउन सफल भएको पनि दाबी गरेको छ ।

ट्रम्पले भ्रष्ट र बेइमान मिडियाका बाबजुद कयौँ उत्कृष्ट समाचार पनि प्रकाशित भएको भन्दै त्यसप्रति आफूले सधैँ सम्मान गर्ने बताएका छन् । उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘धेरै भ्रष्ट र बेइमान मिडिया कभरेजका बावजुद कयौँ रिपोर्ट उत्कृष्ट पनि छन् जसको म सदैव सम्मान गर्छु । अमेरिकीका लागि कयौँ राम्रा समाचार पनि दिइएको छ, जसमा मलाई गर्व पनि छ ।’

 

विशेष