विदेश

ओसामा बिन लादेनका १२ वर्षे नातीको हत्या

ओसामा बिन लादेनका १२ वर्षे नातीको हत्या

न्युयोर्क । इस्लामिक कानुन र राज्यको लागि सशस्त्र युद्ध गर्दै आएको अलकायदाका लडाकुले ओसामा बिन लादेनका १२ वर्षीय नातिको हत्या गरिएको जानकारी दिएका छन् ।

ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनद्वारा लेखिएको पत्र भन्दै अलकायदा समर्थित अनलाइन अल वतीकमा सार्वजनिक गरिएको छ। अलकायदाका उच्च नेता अल वसीक बिल्लाहले ३१ डिसेम्बरमा टेलिग्राम एप मार्फत ओसामा बिन लादेनका नाति मारिएको खबर सम्प्रेषण गरेका थिए।

यसैगरी अर्का लडाकु नेता शायबत–अल–हुकमा लगायत कैयौं जिहादी नेताले टेलिग्राममा यो खबर शेयर गरेका छन्। अल वसीकले लादेनका नातिको हत्या किन, कहाँ र कसरी भयो भन्ने केही खुलाएका छैनन्।

अबु–खल्लाद अल–मुहनदीसले उनको हत्या रमजानकै बेला भएको बताएका छन् । गत वर्ष रमजान मे २६ तारिखदेखि २४ जुनसम्म मनाइएको थियो।

मुहनदीसले हमजाद्वारा लिखित भन्दै एक पत्र शेयर पनि गरेका छन् । उक्त पत्र मृतक बालककी आमा र परिवारलाई लेखिएको छ। बाबु हमजाले आफ्नो छोरो सधैं शहीदका जस्तै गरी सम्मानपूर्वक मर्न चाहेको खुलासा गरेका छन्। आफ्ना हजुरबा ओसामा विन लादेनलाई सन् २०११ मा मारिएपछि ती बालकमा यस्तो भावना जागेको चर्चा गरिएको छ । हमजा बिन लादेनले आफ्ना भतिजहरूलाई ओसामा, हमजा र आफ्ना दाजुको हत्याको बदला लिन जिहाद छेड्न आह्वान गरेका छन् ।

अल वतीक अनलाइन लामो समयदेखि जिहादी समर्थक हो र अलकायदासम्बन्धी जानकारीका लागि यसलाई विश्वसनीय मानिन्छ ।

विशेष