अदुवा विक्रि नहुँदा किसान मर्कामा
इलाम । अदुवा निकासी ठप्प भएपछि इलामका अदुवा उत्पादक किसान मर्कामा परेका छन् ।
भारतीय पक्षले नेपाली अदुवा निकासीमा रोक लगाएपछि अदुवा किसान मार्कामा परेका हुन् ।
भारतीय पक्षले नेपाली अदुवा निकासीमा रोक लगाएपछि किसानबाट खरिद गरेर व्यापारीले बजारमा पुर्याएको अदुवा गोदाममै थन्किएको छ ।
अदुवा बिक्री हुन छाडेपछि कतिपय किसानले लगाएको अदुवा बारीमै कुहिने अवस्थामा पुगेको छ ।
करोडौं मूल्यमा किसानसँग खरिद गरेको अदुवा थन्क्याएर राख्नुपरेको इलाम बिब्ल्याँटेका अदुवा ब्यापारी कृष्ण पौडेलले बताए ।
ब्यापारीले किसानबाट संकलन गरेको कतिपय अदुवा खुलास्थानमै राखेका छन् ।
किसानले भने मूल्य पाउने आशमा बारीबाट निकालेको अदुवा भण्डारण गर्ने स्थल नहुँदा अदुवा कुहिने गरेको बताएका छन् ।
जिल्लाका किसान र ब्यापारीसँग आधुनिक भण्डारणको सुविधा नहुँदा करिब २० प्रतिशत अदुवा खेर जाने गरेको ब्यापारीहरुले बताएका छन् ।
इलामका ६ गाउँपालिका मध्ये सबैभन्दा बढी माईजोग्माईमा र ईलाम नगरपालिकामा अदुवा उत्पादन हुने गरेको छ ।
तर, पछिल्ला दिनमा उत्पादित अदुवाले बजार पाउन नसकेपछि कतिपय किसानले विकल्प खोज्न थालेको बिब्ल्याटेका अदुवा कृषक सागरनाथ दाहालले बताए ।
बजारमा अहिले अदुवा प्रतिकेजी १८ देखि २० रुपैयाँमा किनबेच हुने गरेको छ । इलाममा गतवर्षको तुलनामा यसवर्ष अदुवा उत्पादनमा वृद्धि भएको छ ।
इलाममा तीन हजार दुई सय ३३ हेक्टरमा अदुवा खेती गरिएको छ । प्रतिहेक्टर १४ मेट्रिक टन अदुवा उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय इलामको तथ्यांकमा उल्लेख छ ।