News

रानीपोखरी पुनःनिर्माणबारे सर्वसाधारणसँग सुझाव माग

रानीपोखरी पुनःनिर्माणबारे सर्वसाधारणसँग सुझाव माग

काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका सम्बन्धमा सर्वसाधारणसँग सुझाव मागेको छ।

काठमाडौं महानगरका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार मंगलबारदेखि ५ दिनका लागि सुझाव दिन खुला गरिएको छ। यसबीचमा सर्वसाधारणले रानीपोखरी पुनःनिर्माण सम्बन्धमा आफ्ना धारणा वा सुझाव दिन सक्नेछन्।

सर्वसाधारणले विज्ञ समूहको सचिवालय राष्ट्रियसभा गृह, इमेल र फोनमार्फत आफूलाई लागेका कुरा सुझावका रुपमा दिन सक्नेछन्। देशविदेशका धेरै ठाउँको जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ पुनःनिर्माणका क्रममा कंक्रिट प्रयोग गरेको भन्दै विवाद भएको थियो। विवाद समाधान गर्न बिहीबार पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह निर्माण गरिएको छ।

विज्ञ समूहको सोमबार बसेको पहिलो बैठकले सर्वसाधारणसँग पनि सुझाव लिने निर्णय गरेको थियो। सुझावका आधारमा रानीपोखरीको उत्खनन पनि गरिने भएको छ।

२०७२ को भूकम्पले तीन सय वर्ष पुरानो रानीपोखरी र बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त भएका थिए। क्षतिग्रस्त पोखरी पुनःनिर्माणमा कङ्क्रिट प्रयोग गरिएको जनाउँदै सम्पदाविद् र सर्वसाधारणले विरोध गरेपछि काम अघि बढ्न सकेको छैन।

विशेष