व्यापार

संकटमा भेडापालन व्यवसाय

संकटमा भेडापालन व्यवसाय


कञ्चनपुर । चरन क्षेत्रको अभाव भएपछि जिल्लामा भेडापालन व्यवसाय संकटमा परेको छ । खुला चौरमा चरन मनपराउने भेडाका लागि चरन क्षेत्रको अभाव भएको हो । राष्ट्रिय वन क्षेत्रमा रहेका चउर, सामुदायिक वनमा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका चउरमा भेडा चराउन नपाइने भएपछि भेडापालन व्यवसायमा लागेका व्यक्ति पलायन हुन थालेका छन् ।

निकुञ्ज र सामुदायिक वनले चउरको संरक्षण गरी वृक्षरोपण गरेपछि भेडा चराउने कार्य पूर्णरुपमा बन्द भएको छ । भारतीय बजारमा भेडाको ऊन र मासु विगतमा निर्यात हुँदै आएको भए पनि हाल भेडापालन व्यवसाय खस्किँदै गएकाले व्यापारमा निकै कमी आएको छ ।

विशेष थारु समुदायले भेडापालनलाई बढी जोड दिएको पाइन्छ । पिपलाडीका कल्छु चौधरीका अनुसार पहिले थारु समुदायका एउटै परिवारले २०० देखि ५०० सम्म भेडा पाल्ने गरेका थिए । उपयुक्त वातावरण नहुँदा देउतालाई चढाउनका लागि मात्र भेडापालन गर्ने चलन छ । हाल भेडापालन गर्दैआएका परिवारसँग मुस्किलले चारदेखि छवटासम्म भेडा रहेका छन् ।

भेडाको ऊन भारतीय व्यापारीले घरमै आएर लैजाने गरेका छन् । विगतमा भेडापालनमा लागेका परिवारले वार्षिकरुपमा रु ३० हजारदेखि रु ७० हजारसम्म कमाउने गर्दथे । स्थानीयवासी वीरबहादुर चौधरीले भने , “भेडाको संख्या घट्दै गएकाले भारतीय व्यापारी नआउँदा निकालिएको ऊनसमेत घरमै थन्क्याउन बाध्य छौँ ।” भेडाको मासुको मूल्य कम पाउँदा भेडापालन व्यवसाय छाडेर अन्य व्यवसाय अपनाउन थालेको उनको भनाइ छ ।

चरन क्षेत्र पर्याप्त नहुँदा भेडापालन व्यवसाय संकटमा परेको छ । भेडापालन व्यवसायले फड्को मार्न नसकेको पशु विकास कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा मदनसिंह धामीले बताए । सरकारी तवरबाट भेडापालनका लागि कुनै ठोस कार्यक्रम नल्याउनु र भेडाको मासु आम उपभोक्ताले नरुचाउने जस्ता कारणले समेत व्यवसाय संकटमा परेको हो । गत वर्ष भेडाको संख्या करिब आठ हजार रहेकोमा हाल उक्त संख्या घटेर छ हजार पुगेको छ ।

विशेष