विदेश मुख्य समाचार

अमेरिकी सरकार आर्थिक संकटमा, लाखाैं कर्मचारी बेतलबी विदा बस्नु पर्ने

अमेरिकी सरकार आर्थिक संकटमा, लाखाैं कर्मचारी बेतलबी विदा बस्नु पर्ने


काठमाडौं । अमेरिकी सरकारले माथिल्लो सदन ‘सिनेट’मा नयाँ बजेट पारित हुन नसकेपछि आफ्ना विभिन्न कामकाज बन्द गर्न थालेको छ ।

संघीय निकायहरुलाई रकम उपलब्ध गराउनेसम्बन्धी विधेयक सिनेटले अस्वीकृत गरेपछि कामकाज नै ठप्प हुने अवस्था आएको हो । विधेयक पारित नभएसँगै अत्यावश्यकबाहेकका अमेरिकी संघीय निकायका लाखौं कर्मचारीलाई बेतलबी बिदा दिइनेछ ।

ह्वाइट हाउस र कंग्रेसमा एउटै पार्टी रिपब्लिकनको नियन्त्रण रहँदा पनि सरकारी कामकाज ठप्प भएको हो । यसअघि, सन् २०१३ मा यस्तो स्थिति १६ दिनसम्म रहेको थियो ।

विधेयक पारित गर्न आवश्यक ६० मत जुटाउन नसक्दा दुवै सदनमा रहेको बहुमत पनि सरकारका लागि काम लागेन ।अर्को महिनासम्म संघीय निकायहरुलाई खर्च उपलब्ध गराउने विधेयक पारित गराउन रिपब्लिकनलाई डेमोक्र्याट्सहरुको पनि समर्थन आवश्यक थियो ।

विधेयक असफल भएपछि ह्वाइट हाउसकी प्रवक्ता साराह स्यान्डर्सले आफ्ना अनैतिक मागहरु पूरा गराउन डेमोक्र्याट्सले राखेको अनुचित लेनदेनको शर्त अस्वीकार गर्दा विधेयक पारित नभएको प्रतिक्रिया दिइन् ।

डेमोक्र्याट्सहरुले राष्ट्रिय सुरक्षा, सैनिक परिवार, संकटापन्न अवस्थाका बालबालिका र मुलुकको कार्य गर्ने क्षमतामाथि नै तल्लोस्तरको राजनीति गरेको आरोप स्यान्डर्सको छ ।

तर, डेमोक्र्याट्स नेता चक सुमरले भने दुई दलबीच भएको सहमति कार्यान्वयन गराउन राष्ट्रपति डोनाल्ड ट्रम्प इमान्दार नबन्दा विधेयकका पक्षमा पार्टी उभिन नसकेको प्रस्ट गरेका छन् ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट १९७ काविरुद्ध २३० मतले पारित विधेयक सिनेटमा भने एक मतले विफल भएको हो ।विपक्षमा ५० मत आउँदा पक्षमा ४९ मतमात्र परेको थियो । पाँच डेमोक्र्याट्स सांसदले समर्थन गर्दा स्वयं ट्रम्पकै पार्टी रिपब्लिकनका पाँचैजना सांसद विपक्षमा उभिए ।

डेमोक्र्याट्सहरुले आप्रवासनसम्बन्धी कानुनमा सहमतिका लागि अडान राखेका थिए भने केही रिपब्लिकन पनि यसमा सहमत भएका थिए ।

विशेष