विदेश

प्रसिद्ध ज्याज संगीतकार मासकेलाको निधन

प्रसिद्ध ज्याज संगीतकार मासकेलाको निधन

दक्षिण अफ्रिकाका प्रसिद्ध ज्याज संगीतकार तथा रंगभेद विरोधी अभियानकर्मी ह्यु मासकेलाको जोहानेस्बर्गस्थित एक अस्पतालमा निधन भएको छ । उनी ७८ वर्षका थिए ।

लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित मासकेलाको जोहानेस्बर्गमा निधन भएको उनको परिवारले एक विज्ञप्तिमार्फत् जनाएको छ ।

पृथक अफ्रिकी-ज्याज धुनका लागि र सोएटो ब्लुजुजस्ता चर्चित गीतहरुबाट मासकेलाले विश्वव्यापी ख्याति कमाएका थिए ।

सन् १९७७ मा मासकेलाले लेखेको सोएटो ब्लुजु बोलको गीत रंगभेद विरोधी आन्दोलनको पर्याय नै बनेको थियो ।

मासकेलालाई दक्षिण अफ्रिकाको ज्याज संगीतका पिता मानिन्छ ।

क्षति
एक विज्ञप्ति जारी गर्दै दक्षिण अफ्रिकी राष्ट्रपति जेकब जुमाले मासकेलाको निधनबाट देश र संगीत उद्योगका लागि अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
स्वतन्त्रतता प्राप्तिमा मासकेलाले गरेको योगदान कहिल्यै बिर्सिन नसकिने जुमाले उल्लेख गरेका छन् ।

सन् १९६० मा २१ वर्षको हुँदा उनले दक्षिण अफ्रिका छाडेका थिए र त्यसपछिको ३० वर्ष उनले निर्वासित जीवन बिताएका थिए ।

दक्षिण अफ्रिकाका रंगभेदी विरोधी नेता नेल्सन मण्डेलालाई कारागारमुक्त गरिएपछि मात्र उनी सन् १९९० मा स्वेदश फर्किएका थिए । 

सन् १९८६ मा उनले गाएको ुब्रिंग होम नेल्सन मन्डेलाु गीत नेल्सन मण्डेलाको रिहाइको माग गर्दै गरिएको आन्दोलनको मुख्या हिस्सा नै भएको थियो ।

सन् २०१० को जून महिनामा उनले दक्षिण अफ्रिकामा आयोजना गरेको फिफा विश्वकप फुटबलको उद्घाटन समारोहमा सांगीतिक प्रस्तुति पनि दिएका थिए ।

ह्यु मासकेलाको निधनले एउटा युगको अन्त्य भएको टिप्पणी गरिएको छ र उनको निधनले धेरैलाई दुःखित बनाएको छ ।

संगीत, रंगमंच तथा सामाजिक र राजनीतिक अभियानमा उनले पुर्‍याएको विशिष्ट योगदानका लागि उनी निकै सम्मानित छन् ।

-बिबिसी

jazz

विशेष