News

अाेलीलार्इ सडक बालबालिकाले ज्ञापन पत्र बुझाउँदै भने, लाखौं बालबालिकाले विद्यालयको ढोका देख्न पाएनन्

अाेलीलार्इ सडक बालबालिकाले ज्ञापन पत्र बुझाउँदै भने, लाखौं बालबालिकाले विद्यालयको ढोका देख्न पाएनन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडक बालबालिकालाई उचित शिक्षा र सुरक्षाको प्रबन्ध गर्नका लागि अब बन्ने सरकारले आवश्यक नीति निर्माण गर्ने बताएका छन् ।

 

सन् २०१८ मा रुसमा हुने सडक तथा असहाय बालबालिकाको विश्वकप फुटबलमा सहभागिता जनाउने नेपाली राष्ट्रिय टोलीले विभिन्न माग राखेर बुुझाएको ज्ञापनपत्र ग्रहण गर्दै अध्यक्ष ओली आर्थिक समृद्धिको दिशामा राष्ट्रअघि बढिरहेका बेलाले सडक बालबालिकालाई पनि व्यवस्थापन गर्न जरुरी रहेको बताएका हुन्।

 

‘सडक बालबालिकाको विश्वकपमा नेपालले सहभागिता जनाउन जानु आफैँमा खुशीको कुरा हो’, अध्यक्ष ओलीले भने – ‘यस्ता प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार निर्माण गर्न पनि सरकारले सहयोग गर्छ ।’

 

पूर्वप्रधानमन्त्री ओलीले सडक बालबालिकाको शिक्षा र बसोबासका लागि सरकारको सहयोग आवश्यक हुने उल्लेख गर्दै सामाजिक संघसंस्था, नीति क्षेत्र र कर्पोरेट हाउसहरुले यसमा योगदान दिनुपर्नेमा जोड दिएका छन् ।

 

ज्ञापनपत्र बुझाउँदै सन् २०१८ मा रुसमा हुने सडक तथा असहाय बालबालिकाका निम्ति विश्वकप फुटबलका सहभागी हुने नेपाली टोलीका कप्तान रोशन भुजेलले विश्वकप खेलेर फर्किएपछि आफूहरुको व्यवस्थापनमा सरकारको भूमिका रहने अपेक्षा व्यक्त गरेका छन् । उनले भने– ‘व्यावसायिक रुपमै फुटबलको अभ्यास गर्ने अवसर प्राप्त भए हामी राष्ट्रका लागि योगदान दिन सक्ने थियौं ।’

 

त्यसैगरी, अर्का खेलाडी हर्षबमले अभिभावकविहीन बालबालिकाहरुलाई राज्यका तर्फबाट अभिभावकीय छहारी मिले मुलुककै लागि उल्लेख्य काम गर्न सक्ने अठोट व्यक्त गरेका छन् ।

के छ ज्ञापनपत्रमा?

नेपाली राजनीति नयाँ श्रृंखलामा प्रवेश गरेको उल्लेख गर्दै ज्ञापन पत्रमा भनिएको छ – ‘आजभन्दा साढे ४ दशकअघि झापा विद्रोहका बेलाका बेला तपाईले देख्नु भएको समता र समानतामूलक समाज निर्माण हुने दिशातर्फ मुलुकअघि बढिरहेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नयाँ संरचनामा गएको छ। यसको कार्यान्वयन नेकपा एमालेकै नेतृत्वमा प्रारम्भ हुँदैछ। नेपाल राष्ट्र नवीनतम्, आधुनिक, समृद्ध बनाउने अभिभारा पनि तपाई काँधमा आउँदै छ। यही परिवेशमा अबको तपाईको राजनीतिक यात्रा सफल होस् भन्ने कामना गर्न चाहन्छौं। साथै, नेपालको समृद्धि र विकासको यात्रा प्रारम्भ गर्दा सम्बोधन गर्नैपर्ने एउटा अनुरोधसहित यो ज्ञापन पत्र प्रस्तुत गर्दछौं ।’

लाखौं बालबालिकाले अहिले पनि भविष्य निर्माण गर्ने विद्यालयको ढोका देख्न नै नपाएको उल्लेख गर्दै ज्ञापन पत्रमा भनिएको छ –‘कतिपय बालबालिकालाई कदेखि ज्ञसम्म लेख्न पनि आउँदैन । माघको जाडोमा धेरै बालबालिका पेटीमा खाली पेट सुतिरहेको देखिन्छ। अनेक समस्या र बाध्यताका बीच बालबालिकाहरु सडकमा बस्न र पढ्ने उमेरमा मागेर दैनिकी चलाउन बाध्य छन्।’

त्यसैले नेपालमा सडक, अनाथ तथा असहाय बालबालिकालाई संरक्षण र उचित शिक्षादिक्षाको प्रबन्ध गर्ने कार्यमा सरकारको ध्यान जानु पर्नेमा ज्ञापन पत्रका जोड दिइएको छ ।

‘संविधान निर्माणसँगै मुलुक आर्थिक समृद्धि र विकासतर्फ अघि बढिरहेको अवस्थामा सडकमा रहेका बालबालिकाको सुन्दर भविष्यका लागि तपाई र तपाईको पार्टी नेकपा एमालेको पनि योगदान रहन्छ भन्ने हाम्रो अपेक्षा छ’, ज्ञापन पत्रमा भनिएको छ –‘किनभने नेपाली कम्युनिष्ट आन्दोलनको शिखर व्यक्तित्वको हिसाबले तपाई आफैँले पनि यसलाई आफ्नो दायित्वका रुपमा लिनु भएको छ भन्ने हाम्रो आशा हो।जबसम्म सडकमा स्कूल जाने उमेरका स–साना बालबालिका बटुको बोकेर माग्न उभिन्छन्, तबसम्म देशको उन्नति प्रमाणित हुँदैन । त्यसैले सडक बालबालिकाको व्यवस्थापन पनि आवश्यक छ भन्ने हाम्रो धारणा हो । यही लक्ष्यका साथ सेल्टर आश्रय नेपालले सन् २०१८ मा रुसमा हुने फिफा विश्वकपभन्दा अगाडि (सन् २०१८ को मे १९ देखि २७ तारिखसम्म) आयोजना हुन लागेको सडक तथा असहाय बालबालिकाका निम्ति विश्वकप फुटबल ''Street Child World Cup 2018-Future Depends on You' मा नेपालको सहभागिता सुनिश्चित गरेको हो ।’

 

यो विश्वकपको नारा ‘हरेक अनाथ, असहाय तथा सडक बालबालिकाले जन्मदर्ताको अधिकार पाउनु पर्छ’ रहेको छ।अब बन्ने सरकारले मुख्यतः सडक बालबालिकाका लागि जन्मदर्ता, नाबालक परिचय पत्र र ती बालबालिकाको व्यवस्थापनका लागि यथेष्ट बजेट विनियोजन गर्नेमा आशा ज्ञापन पत्रमार्फत गरिएको छ ।

विशेष