शेयर बजारको सुधारसँगै कारोबार रकम पनि बृद्धि
काठमाडाैं । अघिल्लो साताको तुलनामा यो साता सेयर बजारमा थोरै सुधार भएको छ । शेयर बजारको सुधारसँगै कारोबार रकम पनि बृद्धि भएको हो ।
अघिल्लो साताभर ओरालो लागेको शेयर बजार यो साता भने केही सुधार भएको छ । यो साता शेयर बजारमा कारोबार रकम र सूचक दुवै झिनो अंकले बढेका हुन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक पहिलो दिनको तुलनामा १ दशमलव ८६ अंकले बढेर अन्तिम दिन एकहजार ४ सय ४ दशमलव ५३ अंकमा उक्लिएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा समेत सुधार आएको छ । यस साता सेन्सेटिभ इन्डेक्स शुन्य दशमलव ३१ अंकले बढेर २ सय ९६ दशमलव ४१ अंकमा उक्लिएको छ । साताभरमा उपसूचक मिश्रित देखिएका छन् ।
१० समूहको कारोबारमा ६ समूह बढेका छन् भने चार समूह घटेका छन् । वाणिज्य बैंक ३् दशमलव शुन्य ९, विकास बैंक शुन्य दशमलव ७९, होटल ५ दशमलव ३९, जलाविद्युत ३ दशमलव ४९, उत्पादनमूलक ७ दशमलव ६६, ब्यापार २२ दशमलव २२ अंकले बढेका छन् । वित्त ४ दशमलव ९७, लघुवित्त २ दशमलव ६९, बीमा १ दशमलव १५ र अन्य १ दशमलव ०३ अंकले घटेका छन् ।
यस साता नेप्सेमा १ सय ७७ कम्पनीको शेयर किनबेच भयो । जस अनुसार एक अर्ब ७३ करोड ९० लाख १४ हजार रुपैयाँको शेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ । कारोबार रकम गत साताभन्दा ५८ दशमलव ७४ प्रतिशत बढी हो । अघिल्लो साता अवधिमा एक अर्ब नौ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । यस साता कारोबार रकमको आधारमा सानिमामाई हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ ।