News

यातायात कार्यालयका कर्मचारीले लिए भूकम्पप्रभावितसँग सात करोड घूस

यातायात कार्यालयका कर्मचारीले लिए भूकम्पप्रभावितसँग सात करोड घूस

काठमाडौं । यातायात कार्यालयका कर्मचारीले ६ महिनायता भूकम्पप्रभावितसँग साढे सात करोड रुपैयाँभन्दा बढी ‘घूस’ लिएको पाइएको छ।

एकान्तकुनास्थित यातायात कार्यालयको ‘सानाठूला फाँट’ का केही कर्मचारीले सरकारले सहुलियतमा उपलब्ध गराएको ट्याक्सी दर्ता र नामसारीको नाममा प्रतिव्यक्ति ५० हजारदेखि एक लाख रुपैयाँसम्म असुलेका हुन्।

सरकारले १८ जिल्लाका भूकम्पप्रभावितलाई गोलाप्रथाबाट एक हजार पाँच सय ट्याक्सी वितरण गरेको थियो। ट्याक्सी किन्न चाहने पीडितसँग संकलन गरिएको एक लाख ४९ हजार पाँच सय ५८ निवेदनका आधारमा गोलाप्रथाबाट उनीहरू छनोट भएका थिए। त्यस क्रममा ‘संस्थागत र योजनाबद्ध’ ढंगले घूस असुलिएको स्रोतले बतायो। ‘भूकम्पप्रभावितका नाममा ट्याक्सी दर्ता गर्दा र उनीहरूबाट व्यवसायीको नाममा नामसारी गर्दा ५० देखि एक लाख रुपैयाँसम्म घूस संकलन गरेको देखिन्छ’, स्रोतले भन्यो, ‘मिलेमतोमा कार्यालय प्रमुखदेखि फाँटका श्रेणीविहीन कर्मचारीसम्मलाई भाग लगाइएको रहेछ।’

गोलाप्रथामा परेपछि पीडितले ट्याक्सी खरीद गरी सञ्चालन गर्न पाउने व्यवस्था गरिएको थियो। गोलाप्रथामा परेका, तर किनेर चलाउन नसक्नेले व्यवसायीलाई ट्याक्सी बेचेका थिए। त्यसक्रममा दर्तादेखि नामसारीसम्म फरक–फरक दर तोकेर घूस लिइएको हो।  गत मंसिर २९ मा यातायात कार्यालयका सानाठूला फाँटको १४ नम्बर शाखाका नासु ईश्वरबन्धु गौतम ५० हजार रुपैयाँ घूससहित पक्राउ परेका थिए। उनले ट्याक्सी नामसारीका क्रममा सेवाग्राहीसँग कार्यालयभित्रै ‘निर्धक्क’ घूस लिएका थिए। कान्तिपुर दैनिक 

विशेष