व्यापार

चिराइतोको बिक्री मूल्य घट्यो, कृषक आर्थिक संकटमा

चिराइतोको बिक्री मूल्य घट्यो, कृषक आर्थिक संकटमा

ताप्लेजुङ। पूर्वीपहाडी जिल्लाहरुमा बढी उत्पादन हुने चिराइतोको बिक्री मूल्यमा गिरावट आएपछि कृषकहरु थप मारमा परेका छन् ।

अलैंचीको मूल्य निरन्तर ओरालो लागिरहेको समयमा अर्को बढी उत्पादन हुने नगदेबाली चिराइतोको पनि मूल्य घटेपछि कृषकको आय–आर्जनमा नै कमी आएको छ । अघिल्लो वर्षदेखि मूल्यमा आएको भारी गिरावटसँगै चिराइतो कारोबारमासमेत कमी आएको ताप्लेजुङका चिराइतो व्यवसायी कैलाश बानियाँले बताए ।

दुई वर्षअघि प्रतिमन ३२ हजार रुपैयाँसम्म खरिद–बिक्री भएको चिराइतो अघिल्लो वर्ष मुस्किलले प्रतिमन ८ हजार ५०० रुपैयाँमा बिक्री भएको थियो । यो वर्ष पनि मूल्यमा भारी गिरावट भएपछि जिल्लामा चिराइतोको कारोबार नै ठप्प भएको बानियाँको भनाइ छ ।

यो वर्ष प्रतिमन पाँच हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसको मुख्य बजार चीन र भारतमा व्यापार रोकिएपछि बंगलादेश निर्यातमा पहल नहुँदा कारोबार रोकिएको व्यापारीहरुको भनाइ रहेको छ ।

एक वर्षअघिसम्म अरु बजारमाभन्दा चीनको तिब्बतमा यसको मूल्य उच्च हुँदा पूर्वका सबै चिराइतो ताप्लेजुङको ओलाङ्चुङगोला हुँदै चीन निकासी भएको थियो । सो समयमा तिब्बतमा प्रतिमन ५० हजार रुपैयाँसम्ममा कारोबार भएको व्यापारीहरु बताउँछन् ।

चिराइतो भारत र चीनलगायत बंगलादेश, जर्मनी र फ्रान्समा औषधीय प्रयोगका लागि जाने गरेको छ । महत्वपूर्ण जडिबुटी मानिएपनि मूल्यमा आएको गिरावटले चिराइतो कृषक मारमा परेका छन् । चिराइतो बिक्री नहुँदा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुमलगायतका कृषक आफ्ना उत्पादन घरमै थन्काएर राख्न बाध्य भएका छन् ।

विशेष