दर्शनार्थीमाथि शाली नदीको मेलामा लुट
काठमाडौं । शंखरापुर नगरपालिकामा रहेको शाली नदी मेलाको मौका पारेर दर्शनार्थी र सर्वसाधारणमाथि चौतर्फी लुट भएको पाइएको छ ।
मेलामा जाने यात्रुका लागि यातायातको ठूलो समस्या छ । रत्नपार्कबाट भद्रवास, डाँछी, आलापोट, गागलफेदी, साँखु र जहरसिंहपौवा लगायत क्षेत्रको यातायातमा एकाधिकार जमाएको साँखु बस व्यवसायी संघका सवारी साधन ‘रुट परमिट’ अनुसार नचली ‘रिजर्भ’ जाँदा यात्रु सडकमा अलपत्र बन्न बाध्य भए ।
मेलामा आउन घन्टौं सवारी साधन कुरेर बस्दा पनि पाउन नसकेको पुल्चोकबाट आएकी रचना तण्डुकारको गुनासो छ । रत्नपार्कबाट साँखुको सवारी साधन पाउन मुस्किल भएको उनले सुनाइन् ।
मेलाको अन्तिम शनिबार संघका सवारी चाबहिलसम्म मात्र सञ्चालन भए। यसरी चलेका सवारी साधनले पनि यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा असुले । चाबहिलसम्मको भाडा २७ तोकिए पनि कुनै पनि बसले ४० रुपैयाँ घटी नउठाएको यात्रुको भनाइ छ ।
साँखुमा लाखौं यात्रु आएकाले सबैलाई सहज होस् भनेर साँखु–चाबहिलसम्म मात्र यातायात सञ्चालन गरिएको संघका सचिव एलपी श्रेष्ठले सुनाए ।
संघले यात्रुलाई सहज रुपमा सेवा दिन चाबहिलसम्म मात्र सवारी चलाएको दाबी गरे पनि यात्रुले भने बढी भाडा लिने र मेलाको मौका छोपेर पैसा कमाउने उद्देश्यले यसो गरिएको गुनासो गरे ।
साँखुको पुरानो बसपार्कमा सयौं यात्रुले घेरिँदा सवारी साधनका परिचालकले चाबहिलसम्म मात्र जाने र भाडा ४० रुपैयाँ लाग्ने भनेर चढाएको सूर्यविनायकबाट आउनुभएका यात्रु श्यामकृष्ण थापाले बताए ।
संघले यो मार्गमा १ सय २० सवारी सञ्चालनमा रहेको दाबी गरे पनि आधा घन्टा कुर्दा पनि बस पाउन नसकिएको धेरै यात्रुले गुनासो गरे । श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिका अध्यक्ष राजभाइ श्रेष्ठ अन्तिम शनिबार भएकाले पाँच लाखभन्दा बढी दर्शनार्थी आउँदा समग्र व्यवस्थापन गर्न धौधौ परेको बताउँछन् ।
साँखु शाली नदी क्षेत्रमा मेलाको अवसरमा खुलेका होटलले पनि महँगो मूल्य असुलेको बनेपाबाट आएका भक्तजन रामचन्द्र श्रेष्ठले बताए ।
मेलाकै अवसरमा राखिएका तयारी पोशाक एवं अन्य सामग्रीका पसलले पनि बजार भाउभन्दा बढी नै मूल्य लिने गरेको उपभोक्ताको भनाइ छ । आफैं सवारी लिएर जाने यात्रुलाई पार्किङ शुल्कका नाममा मनलागी पैसा उठाइएको छ ।
चाबहिल–जोरपाटी–साँखु सडक विस्तार सम्पन्न नहुँदा धुलाम्य र खाल्डाखुल्डीले आवतजावतमै समस्या छ ।
salinadi