व्यापार

हिमाली क्षेत्रका पर्यटन व्यवसायी ट्राउट माछापालनमा आकर्षित

हिमाली क्षेत्रका पर्यटन व्यवसायी ट्राउट माछापालनमा आकर्षित

ललितपुर । हिमाली जिल्ला मनाङ, मुस्ताङ र सोलुखुम्बुका पर्यटन व्यवसायीले ट्राउट माछा पाल्न थालेका छन्।

 

एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजनामार्फत ती जिल्लाका किसानले माछा पाल्न थालेका हुन्। पर्यटन र स्थानीय आत्मनिर्भरताको उद्देश्यले ट्राउट पालन कार्यक्रम शुरु भएको परियोजनाका निर्देशक विजयकान्त झाले बताए।

 

११ जिल्लामा ट्राउट पालनको सहायक परियोजना सञ्चालनमा छन्। अरु आठ जिल्लामा पहिलेदेखि नै पालन हुँदै आए पनि तीन जिल्लामा परियोजनाले शुरु गरेको निर्देशक झाले जानकारी दिए। त्यस क्षेत्रमा ट्राउट माछा साढे दुई किलोसम्मको हुने गरेको छ। व्यवसायीले एक माछाको ३ सयदेखि ४ सय रुपैयाँसम्म बेच्ने गरेको पाइएको छ।

 

उनले भने,'पर्यटकले अरु कुरासँगै ताजा ट्राउट खान पाएका छन् भने व्यवसायीले पनि राम्रो आम्दानी गरिरहेका छन्।'

 

६ वर्ष पहिले उच्च पहाड र हिमालका १० जिल्लामा परियोजना शुरु भएको थियो। स्थानीयवासीले गर्दै आएको कृषि र पशुपालनलाई नै व्यावसायिक बनाउन परियोजनाले अनुदान सहयोग गर्दै आएको छ।

 

परियोजनाले दुई हजार फिटभन्दा तलका क्षेत्रमा परियोजनाको २० प्रतिशत र किसानको ८० प्रतिशत तथा त्यसभन्दा बढी उचाइका ठाउँमा किसान र परियोजना दुवैको ५०/५० प्रतिशत लगानीमा विभिन्न सहायक परियोजना सञ्चालन गरेको छ। 

विशेष