यौन दुर्व्यवहारको आरोप लागेको स्टिव वाइनद्धारा राजीनामा
काठमाडौं । अमेरिकी क्यासिनो मुगल स्टिव वाइनले रिपब्लिकन नेसनल कमिटीको वित्त प्रमुखबाट राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेपछि उनले राजीनामा दिएका हुन् ।
वाल स्ट्रिट जर्नलको रिपोर्टमा ७६ वर्षीय अर्बपतिमाथि मसाज गर्नेलाई दुःख दिएको र उनीहरुमध्ये एकलाई यौन सम्बन्ध राख्न बाध्य पारेको आरोप लगाइएको छ । वाइनले भने आरोपको खण्डन गरेका छन् । रिपब्लिकन नेसनल कमिटीका प्रमुखले वाइनको राजीनामा स्वीकृत गरेको बताएका छन् ।
वायनले यसको दोष पूर्वपत्नी ऐलेनलाई दिएका छन् । पूर्वपत्नी ऐलेनसँग उनी मानहानीको मुद्दा पनि लडिरहेका छन् । वाल स्ट्रिट जर्नलले भने अर्बपति वायनसँग काम गरेका दर्जनौं मानिसलाई उद्धृत गर्दै कार्यालयमा एक्लै बस्दा कयौंपटक मसाज गर्नेलाई यौन उत्पीडन गरेको आरोप लगाएको छ ।
अदालतको एक दस्तावेजलाई उद्धृत गर्दै जर्नलले क्यासिनोका बादशाहले एक मेकअप आर्टिस्टलाई ७.५ मिलियन डलर तिरेको उल्लेख गरेको छ । मेकअप आर्टिस्टले वायनमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।