बिबिसी मिडिया एक्सनको ‘साझा सवाल’ बन्द
पूर्व सम्पादकले भनेः प्रश्न अन्त्य भएका छैनन्
काठमाडौं । ‘बिबिसी मिडिया एक्सन’ को साप्ताहिक कार्यक्रम ‘साझा सवाल’ अब बन्द हुने बताइएको छ । २०६४ मंसिरदेखि नियमित उक्त कार्यक्रम विराटनगरमा पुगेर अन्त्य भएको हो ।
‘साझा सवाल’को आधिकारिक ट्वीटबाट यो कार्यक्रम अब बन्द भएको बताइएको हो । यसका पूर्व सम्पादक दीपक भट्टराईले पनि आफ्नो ट्वीटमा साझा सवाल कार्यक्रम बन्द भएको बताए ।
भट्टराईले कार्यक्रम बन्द भए पनि प्रश्नहरु अन्त्य नभएको बताएका थिए । उनले ति प्रश्नहरु कुनै न कुनै तरिकाले बाहिर आउने बताए ।
त्यसो त ‘साझा सवाल’ कार्यक्रम बन्द हुनुभन्दा केही साताअघि नै कार्यक्रमका सम्पादक दीपक भट्टराई र प्रसतोता विद्या चापागाईँले बिबिसी मिडिया एक्सन छोडिसकेका थिए ।
२०६४ सालको मंसिरमा विराटनगरबाट सुरु भएको यस कार्यक्रम विराटनगरमै गएर टुंगिएको हो । कार्यक्रम बन्द भएको सार्वजनिक भएपछि यस कार्यक्रमसँग जोडिएका काम गर्ने पुराना संचारकर्मी तथा अन्य दर्शकले समेत शुभेच्छा प्रकट गरेका थिए ।
धेरैजसोले सामाजिक संजालमा साझा सवाल बन्द गर्न नहुने भन्दै छिट्टै सुचारु गराउन सुझाव दिएका छन् ।
केहीले भने ‘विदेशी पैशामा चलेको कार्यक्रम’ भन्दै बन्द भएकोमा गुनासो नरहेको भन्दै व्यंग्य समेत गरेका छन् । यद्यपि, कार्यक्रमको पूर्व सम्झौता अनुसार नै कार्यक्रम बन्द भएको बुझिएको छ । कार्यक्रमको लोकप्रियतालाई बुझेर बिबिसी मिडिया एक्सनले साझा सवालको सट्टा अर्को यस्तै कार्यक्रम ल्याउनसक्ने पनि बुझिएको छ ।