News

लौरो न हतियार बाँदरको पुछार जस्ताे प्रचण्डको निजी सचिवालय

लौरो न हतियार बाँदरको पुछार जस्ताे  प्रचण्डको निजी सचिवालय


काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डको निजी सचिवालय चुस्त र प्रभावकारी बनाउने समाचार केही साताअघि माओवादीवृत्तबाटै सार्वजनिक गरिएको थियो । तर, अहिले प्रचण्डको सचिवालय यति झूर बनेको छ कि सचिवालयकै सदस्यले जरुरी काम पर्दा प्रचण्डसँग फोन सम्पर्क गर्न तीन घण्टा कुर्नुपर्छ ।

विगतमा पुत्र प्रकाश दाहालले प्रचण्डको निजी सचिवालयमा काम गर्दा कसैले चाहेमा तत्कालै प्रचण्डसँग सम्पर्क गर्न सक्थे र आफ्नो कुराहरु राख्न सक्थे । तर, प्रकाशको निधनपछि प्रचण्डको सचिलावय लठीबद्र बनेको छ । यस्तो हुनुमा स्वयं प्रचण्डको व्यक्तिवादी कार्यशैली र सचिवालयका सदस्यहरुको लोसेपनले काम गरेको नेताहरु बताउँछन् ।

पेरिसडाँडास्थित पार्टी हेडक्वार्टरमा भेटभाटलाई व्यवस्थित गर्न भन्दै गठन गरिएको प्रचण्डको सचिवालय बाख्राको घाँटीमा झुण्डिएको लुर्कोजस्तै प्रयोजनविहीन बनेको छ ।

पेरिसडाँडामा प्रचण्डको भेटघाटलाई व्यवस्थित गर्न बनाइएको तीन सदस्यीय सचिवालयमा माओवादी नेता प्रल्हाद बूढाथोकी, प्रकाश पोखरेल र श्रीराम ढकाल छन् । तर, उनीहरुलाई प्रचण्डको दिनभरिको कार्यक्रमबारे कुनै जानकारी गराइँदैन ।

जरुरी काम परेर प्रचण्डसँग सचिवालयका सदस्यले फोन सम्पर्क गर्दा तीन घण्टासम्म सम्पर्क नदिइएको गुनासो एक माओवादी नेताले गरे । उनले भने– ‘प्रचण्डको सचिवालय कति व्यवस्थित छ भन्ने त यहीँबाट थाहा हुन्छ ।’

विशेष