News

‘लास वा सास’ जे भए नि देउ

‘लास वा सास’ जे भए नि देउ


ललितपुर ।  सात दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमणमा) जाँदा हराएका विद्यार्थी अझै भेटिएका छैनन् ।

 

ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय जोन तामाङ माघ ११ गते बिहीबारदेखि हराएका हुन् । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना गरेर तीनैवटा सुरक्षा निकाय तामाङको खोजीमा लागेको बताएका छन् ।

 

अभिभावक संगठनहरु, प्याब्सन र आफन्तहरुले गोदावरी आसपासका गाउँमा खोजी गरेका थिए । हुलियाका आधारमा उनीजस्तै व्यक्ति देखिएको सूचनाका आधारमा गाउँ–गाउँमा समेत खोजी भइरहेको छ । उनले भने “हामीले माघ ११ गते बिहीबारदेखि नै दिनरात खोजी गरिरहेका छौँ ।” तामाङलगायत ११ जना विद्यार्थी लिएर विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर ओली २०७४ माघ ११ गते बिहीबार फुल्चोकी हाइकिङ गएका थिए । साँझसम्म पनि नभेटिएपछि उनले परिवारमा खबर गरे ।

 

प्रधानाध्यापक ओलीले जोनले आफूलाई दुःख दिएको भन्दै अर्काे दिन उनी घर फर्किएर आउने बताएको जोनका आफन्त भरत राईले बताए । उनले भने , “केका आधारमा भोलि आउँछ भनेको हो, त्यो प्रस्ट बताएको छैन ।”

 

प्रधानाध्यापकको लापरबाहीका कारण घटना भएको परिवारजनको आरोप छ । उनलाई कारबाही गर्नुपर्ने राई बताउछन् । उनले भने, “एक त विद्यार्थीलाई २४ किलोमिटर हिँडाएर लगेको छ, अर्कातिर कसरी घटना भयो समेत बताएको छैन ।” प्रधानाध्यापक र सँगै गएका अरू विद्यार्थीको भनाइ फरक भएको आफन्तले बताएका छन् ।

 

‘लास वा सास’ जे भएपनि चाहिने भन्दै चाँडो खोजी गर्न परिवारजनले दबाब दिँदै आएका छन् ।

विशेष