News

दिनभरि बल्छन् तराईका नगरपालिका सडक बत्ती

दिनभरि बल्छन् तराईका नगरपालिका सडक बत्ती

अँध्यारोको अन्त्यका लागि बिजुली बालिन्छ । यो सामान्य कुरा हो तर तराई मधेशका विभिन्न जिल्लामा राति मात्रै बाल्नुपर्ने बिजुली दिनभर पनि बलिरहेको हुन्छ भन्ने सुन्दा र देख्दा तपाईलाई कस्तो लाग्छ ? तर यो यथार्थ हो ।

तराई मधेशका नगरपालिकाले रातको समयमा उज्यालोका लागि राखिएका बत्ती दिनभरि बलिरहेको पाइएको छ । प्राधिकरणको हेटौंडा क्षेत्रीय कार्यालयअन्तर्गतका भरतपुर तथा वीरगञ्ज महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, गौर, कलैयालगायत नगरपालिकाले विद्युतको खम्बामा झुण्ड्याइएका सडक बत्तीका बल्ब दिनभर बलिरहेका हुन्छन् । धेरै ठाउँमा बत्ती बाल्न तथा निभाउन स्विचसमेत राखिएको छैन ।

जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतका जनकपुर उपमहानगरपालिका, जलेश्वर नगरपालिका, मलंगवालगायत नगरपालिकाले राखेका सडक बत्ती दिनभर बलिरहेका छन्। सडक बत्ती राति मात्रै बालिने भएकाले त्यस्ता सडक बत्तीको १२ घण्टाको मात्रै बिलिङ हुने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने मुख्य तथा भित्री सडकमा बत्ती राख्ने तर त्यसलाई ननिभाउँदा बिजुली चुहावट भइरहेको छ ।

यसबाट प्राधिकरणले करोडौँ रुपैयाँ राजस्व गुमाइरहेको छ । जनकपुरजस्ता क्षेत्रमा अनावश्यक बिजुली बल्दा अन्य क्षेत्रमा आपूर्ति पुगेको छैन । दिनभर सडक बत्ती बल्दा उत्पादनमा दबाब पर्छ भने अर्कातर्फ भारतबाट बढी आयात गर्नुपर्छ ।

‘निर्वाचित जनप्रतिनिधि आएपछि सडक बत्ती राख्न प्रतिस्पर्धा नै चलेको छ तर हामीसँग समन्वय नै नगरी हचुवाको भरमा जथाभावी रूपमा सडक बत्ती राखिएको छ, निभाउन तथा बाल्न स्विचसमेत राखिएको छैन’, जनकपुर क्षेत्रीय कार्यालयले जनाएको छ ।

सो कार्यालयले किन यस्तो गरियो भनेर प्रमुख/उपप्रमुखलाई सोध्यो, तर उत्तर भने ‘हामी निर्वाचित प्रतिनिधि हौँ, यस्तो अधिकार छ भन्नुहुन्छ, उहाँहरूको अगाडि हामी निरीह बन्नुपर्ने अवस्था छ ।’ सडक बत्तीबाट विद्युत् चुहावट भइरहेको र राजस्वसमेत गुमिरहेको पाइएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिनभर बल्ने सडक बत्ती निकाल्न सम्बन्धित क्षेत्रीय कार्यालय र वितरण केन्द्रका प्रमुखलाई निर्देशन दिएका छन् ।

घिसिङले जनकपुर तथा हेटौंडा क्षेत्रीय कार्यालयअन्तर्गतका वितरण केन्द्रको आइतबार, सोमबार र मंगलबार स्थलगत निरीक्षण गरेका थिए । ‘त्यस क्षेत्रका नगरपालिकाले राखेका सडक बत्ती दिनभर बल्दा रहेछन्, यसबाट एकातर्फ प्राधिकरणले राजस्व गुमाएको छ भने अर्कोतर्फ ऊर्जा खेर गइरहेको छ’, उनले भने, ‘दिउँसो बत्ती निभाउन नगरपालिका र त्यहाँका बासिन्दासमेतले पहल गर्नुपर्‍यो, अब त्यस्ता बत्ती निकाल्न अभियान नै सुरू गरिसकेका छौँ ।’ उनले दिउँसो बलिरहने सडक बत्ती निभाइदिएर ‘उज्यालो नेपाल’ अभियान सफल बनाउन सहयोग गरिदिन आग्रहसमेत गरे ।

सडक बत्ती दिनभर बल्ने सबैभन्दा ठूला समस्या जनकपुरमा छ । जनकपुर वितरण केन्द्रको विद्युत् चुहावटमा सडक बत्तीको हिस्सा करिब एक प्रतिशत रहेको अनुमान गरिएको छ। जनकपुर वितरण केन्द्रको कार्यालय अगाडि नै राखिएको सडक बत्ती दिनभर बलिरहन्छ । त्यसलाई न त जनकपुर उपमहानगरपालिकाले निभाउँछ न प्राधिकरणका कर्मचारीले नै । स्विच राखिएको ठाउँका सडक बत्तीसमेत दिनभर बलिरहने गरेको जनपुर क्षेत्रीय कार्यालयका प्रमुख सच्चिदानन्द यादवले स्वीकार गरे । उनले भने, ‘सडक बत्ती निभाउन भनिरहेका छौँ तर हाम्रो प्रयास प्रभावकारी हुन सकिरहेको छैन ।’

‘प्रमुख/उपप्रमुखलाई अनुरोध गर्‍यौँ, गर्दैछौँ भन्नुहुन्छ तर अहिलेसम्म नतिजा देखिएको छैन’, हेडौँडा क्षेत्रीय कार्यालयअन्तर्गतको सडक बत्तीको बक्यौता  ७१ करोड ४१ लाख रुपैयाँ छ । विद्युत् चुहावट १५.३९ प्रतिशत छ। प्राधिकरणले आगामी असारसम्ममा चुहावट १२ प्रतिशतमा झार्न लक्ष्य दिएको छ । यसैगरी जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतको सडक बत्तीको बक्यौता ५७ करोड १४ लाख ४८ हजार रुपैयाँ छ ।

विद्युत् चुहावट ३६.५५ प्रतिशत छ। यसलाई २५ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । मन्त्रिपरिषद्ले गत असारसम्मको सडक बत्तीको बक्यौता तिरिदिने निर्णय गरेको छ। बक्यौता रकम सम्बन्धित नगरपालिका/गाउँपालिकाले समर्थन भने गर्नुपर्ने छ । प्राधिकरणले अहिले बक्यौता रकमलाई समर्थन गरिदिन आग्रह गर्दै सम्बन्धित नगरपालिका/गाउँपालिकालाई पत्राचार गरिसकिएको छ ।

terai

विशेष