News

अमेरिका र नेपालबीच समान भिसा नीति

अमेरिका र नेपालबीच समान भिसा नीति

काठमाडौं । सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ ।

अब दुवै देशले एकअर्काका नागरिकलाई दिने भिसा अवधि र लाग्ने शुल्क समान भएको छ । मन्त्रिपरिषदले पुस १३ को बैठकले अमेरिकी प्रस्तावबमोजिम अध्ययन, कामदार र पत्रकार भिसा शुल्क र अवधिमा एकरुपता कायम गर्ने निर्णय गरेको हो । पर्यटक भिसामा भने थप छलफल गर्नुपर्ने भन्दै एकरुपता कायम हुन सकेन ।

नेपालस्थित अमेरिकी दुतावासले गत असोज १९ मा अमेरिकी नागरिकप्रति नेपालको नीति समान बनाउन तथा भिसाको किसिम, अवधि र लाग्ने शुल्कमा हेरफेर गरी पर्यटक, अध्ययन, कामदार र पत्रकार भिसाको शुल्क र अवधिमा एकरुपता कायम गर्न परराष्ट्र मन्त्रालयमार्फत प्रस्ताव गरेको थियो ।

मन्त्रिपरिषदको निर्णयअनुसार दुवै देशले विद्यार्थीका लागि ३ सय ६० अमेरिकी डलरमा पाँच वर्ष (अध्ययन अवधिभर) का लागि बहुप्रवेशी (मल्टिपल) भिसा जारी गर्नेछन् । अब दुवै देशका कामदारले १ सय ९० अमेरिकी डलरमा तीन वर्षको बहुप्रवेशी भिसा पाउनेछन् । पत्रकारलाई पनि दुवै देशले १ सय ६० अमेरिकी डलरमा ५ वर्षको बहुप्रवेशी भिसा जारी गर्नेछन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट

विशेष