News

विकास र पुनःनिर्माणलाई गति दिन प्रधानमन्त्रीको निर्देशन

विकास र पुनःनिर्माणलाई गति दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माण र भूकम्पपछिको पुनःनिर्माणको कामलाई तीब्रता दिन सम्बन्धित मन्त्री, मन्त्रालयका सचिव र निकायहरुलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय योजना आयोगमा आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ४१ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनका कारण रोकिएका विकास निर्माणका कामले अब संघीयताको कार्यान्वयनसँगै तीब्रता पाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयनका क्रममा तीनै तहका निर्वाचन सम्पन्न हुनु सुखद् एवं उपलब्धिपूर्ण भएको उल्लेख गर्दै अब बन्ने प्रदेश स्तरका सरकारका काममा सहयोग गर्न समेत केन्द्रीय निकायहरूलाई आग्रह गरे । काठमाडौँ–तराई दू्रतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिइनु र बुढीगण्डकी जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा निर्माणको निर्णय हुनु आफ्नो कार्यकालको उपलब्धि भएको प्रधानमन्त्री देउवाले बताए ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले मुग्लिन–नारायणगढ सडक खण्डको विस्तार कार्य चाँडो सक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिए । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तोकिएका शीर्षकमा खर्च नगरी अन्य शीर्षकका बजेट माग्ने प्रवृत्तिका कारण स्रोतको व्यवस्थापनमा कठिनाई भइरहेको बताए ।

अर्थमन्त्री कार्कीले संविधानले तोकेका अधिकार क्षेत्रका काममा स्थानीय तहलाई सहयोग गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सम्बद्ध निकायहरुबीच समन्वयका साथ काम भएमा विकासका कार्यले गति लिने बताए ।

Sher Bahadur Deuba

विशेष