विदेश

फ्रान्समा सामाजिक मिडियामा गलत समाचार रोक्न कानुन

फ्रान्समा सामाजिक मिडियामा गलत समाचार रोक्न कानुन


एजेन्सी । फ्रेन्च राष्ट्रपति इमानुयल म्याक्रोंले बिहिबार गलत समाचार प्रवाह रोक्न नयाँ कानुन ल्याउने घोषणा गरेका छन् । उनले चुनावी अभियानका क्रममा सामाजिक सञ्जालमा हुन सक्ने गलत समाचार रोक्न त्यस्तो कानुन आवश्यक भएको बताए ।

उनले भने, राजनीतिक अधिकारी, विभिन्न लोकप्रिय व्यक्ति, पत्रकार लगायतलाई लक्षित गरी नियोजित रुपमा विभिन्न भाषामा सूचना जानकारीहरु सामाजिक मिडियामार्फत सार्वजनिक भएका छन् । म्याक्राेले नियोजित रुपमा उदार लोकतन्त्रप्रति मानिसको विश्वासमाथि सामाजिक मिडिया मार्फत निरन्तर प्रहार भएकाले नयाँ कानुन ल्याउन लागेको दाबी गरे । नयाँ वर्षको अवसरमा सञ्चारकर्मीका लागि आयोजित भोजमा राष्ट्रपति म्याक्राेंले भने, हामी गलत सूचनाबाट लोकतन्त्रलाई बचाउन कानुनी व्यवस्था विकसित गर्दै छौ । म्याक्रोंले यसअघि रुसले युरोपेली देशका चुनावी अभियानलाई प्रभावित पार्न सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको संकेत गरेका थिए । तर संवाददाताले उनलाई रुसी भूमिकाबारे भने कुनै प्रश्न भने गरेनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपतीय चुनावी अभियानमा पनि रुसले सामाजिक सञ्जाल मार्फत मानिसलाई प्रभावित गरेको आरोप अस्वीकार गर्दै आएको छ ।


म्याक्रोले केही रकम खर्चेर सामाजिक मिडियामा व्यति वा राजनीतिक समुहलाई बदनाम गर्ने गरी प्रचारप्रसार गराउन सम्भव भएको भन्दै चिन्ता प्रकट गरे । उनले त्यस्ता गलत सूचनाले सत्य र झुटबीचको रेखा धमिल्याएको दाबी गरे ।

नयाँ कानुनले न्यायाधीशलाई झूटा समाचार दिने वेबसाइट बन्द गराउने व्यवस्था समावेश गरिने बताए । उनका अनुसार उक्त कानुनमा वैदेशिक लगानी वा प्रभावमा रहेका टेलिभिजन प्रसारणले अस्थिरता फैलाउन गरेको प्रयास रोक्ने अधिकार दिने जनाए ।

यसअघि म्याक्रोंले विश्व जनमतलाई आफ्नो स्वार्थअनुकूल प्रभावित पार्न रुसले सामाजिक मिडियाको प्रयोग गर्ने गरेको टिप्पणी गरेका थिए । उनले सार्वजनिक रुपमा रुसी सञ्चारमाध्यम आरटी र स्पुत्निकले गलत नियत ले सूचना सार्वजनिक गर्ने गरेको बताएका थिए । प्रस्तावित कानुन अनुसार खासगरी चुनावी अभियानमा सामाजिक मिडियामार्फत सार्वजनिक सामग्रीको स्रोत खुलाउनुपर्ने व्यवस्था गरिएको उनले बताए ।

विशेष