News

डेढ महिनाको अवधिमा एक हजार २ सय टन धुलो संकलन

डेढ महिनाको अवधिमा एक हजार २ सय टन धुलो संकलन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘क्लिन द सिटी’ अभियान अन्तर्गत डेढ महिनाको अवधिमा एक हजार २ सय टन धुलो संकलन गरेको छ।

गत मंसिर पहिलो हप्तादेखि सुरु भएको अभियानअन्तर्गत सो परिमाणको धुलो संकलन भएको हो। सुन्धारामा रहेको महानगरपालिका कार्यालयको ढोकादेखि हालसम्ममा नयाँ सडक, रत्नपार्क, जमल, लैनचौर, पुतलीसडक, सिंहदरबार आसपास, त्रिपुरेश्वर, भद्रकाली र बानेश्वर क्षेत्रको धुलो संकलन भइसकेको वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिए।

संकलित धुलो टेकुमा व्यवस्थापन गरिँदै आएको छ। सडक विभागका १० र महानगरका २५ कामदार सो कामका लागि निरन्तर लागिरहेका छन्। हरेक दिन सरदर १२ टन धुलो संकलन हुने गरेको छ।

निर्वाचित जनप्रतिनिधि आएपछि अहिले बिहान धुलो जम्मा गर्ने र बेलुका पानीले सडक सफा गरिँदै आएको छ। सम्भव भएसम्म सफा गरिएको स्थानमा पुनः काम गर्ने योजना रहेको थापाले जानकारी दिए।

विशेष