विदेश

कतारी मक्का यात्रीलाई अनावश्यक दुःख दिँदै साउदी

कतारी मक्का यात्रीलाई अनावश्यक दुःख दिँदै साउदी

दोहा । साउदी अरेबीयाले मक्का यात्रा गर्न आएका कतारी नागरिकलाई अनावश्यक रूपमा दुःख दिन थालेको छ । कतारी दैनिक पत्रिका अल रायाले साउदीले कतारीलाई अप्ठेरो पार्ने गरेको खबर छापेको छ ।

साउदीलगायतका देशले लगायको नाकाबन्धीका कारण हाल कतार र साउदीबीच शत्रुतापूर्ण सम्बन्ध रहँदै आएको छ । सन् २०१७ को जुनमा कतार र साउदी अरेबीयाबीच कूटनीतिक सम्बन्ध बिग्रिएको थियो ।

कतारले आतंकवादी संगठनलाई आर्थिक सहयोग गर्ने गरेको र इरानसँग नजिकको सम्बन्ध बनाएको आरोप लगाएर साउदी, इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारसँग आफ्नो कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । ती देशले कतारसँग जल, स्थल र हवाई सबै नाका बन्द गरेका छन् ।

मक्का तीर्थयात्रा गर्न गएका कतारका २० जना नागरिकलाई साउदी अध्यागमनले जेद्दा विमानस्थलबाटै कुवेत पठाइदिएको कतारी संचारमाध्यम अल राया र अलजजिराले जनाएका छन् । उनीहरूलाई दुई दिनसम्म हिरासतमा राखिएको बताइएको छ ।

कतारी नागरिक मोहम्मद बिन हामिद अल मोहनदीले ट्विट गरे, ‘म उमराहका लागि साउदी जान चाहन्थें तर साउदी अध्यागमनले मलाई रोकिदियो।’

धार्मिक यात्रामा राजनीति गरेर साउदी अरेबियाले अमानवीय व्यवहार देखाएको भन्दै कतारले विरोध गरेको छ । हज यात्रा वर्षमा एकपटक निश्चित दिनमा गरिन्छ भने उमराह (मक्का यात्रा) वर्षैभर गर्न सकिन्छ ।

विशेष