काठमाडौंको तापक्रम शुन्यमा झर्यो, देशैभर अत्याधिक चिसो
काठमाडौं । पश्चिमी वायुको प्रभावसँगै जम्मु कास्मिर हुँदै हिमालमाथिबाट हावा आएकाले काठमाडौंलगायत देशभर चिसो बढेको छ ।
काठमाडौंमा आज बिहानको तापक्रम शून्य डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्ष कै कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि शुक्रबार १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको शनिबारको न्यूनतम तापक्रम एक दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो ।
गएको वर्ष माघ १ गते न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेको काठमाडौंको न्यूनतम तापक्रम २०३४ साल पुस २७ गते अहिलेसम्म कै कम माइनस ३ दशमलव ५ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका अन्य स्थानमा पनि चिसो निकै बढेको छ । गत २४ घण्टामा जुम्लामा सबैभन्दा धेरै चिसो भएको छ ।
जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव २, जोमसोमको माइनस ४ दशमलव ७ र जिरीको माइनस् ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।