News

गोविन्द केसी फेरि अनशन बस्ने, प्रधानन्यायाधीश हटाउ आन्दोलनको घोषणा

गोविन्द केसी फेरि अनशन बस्ने, प्रधानन्यायाधीश हटाउ आन्दोलनको घोषणा

काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान का वरिष्ठ चिकित्सक डा गोविन्द केसीले सर्वोच्च अदालतको फैसला अस्वीकार गर्दै आन्दोलनको घोषणा गरेका छन । केसीले आज १ बजे पत्रकार सम्मेलन गरी प्रधानन्यायाधीश गोपाल पराजुली हटाउ आन्दोलन घोषणा गर्न लागेका हुन ।

 सर्वोच्च अदालतले तत्कालीन डिन डा शशि शर्मालाई पुनर्बहाली गर्न आदेश दिएपछि आक्रोशित बनेकाकेसीले अव प्रधानन्यायाधीशकै बिरुद्ध लडाई केन्द्रित गर्ने बताए । उनले अदालतको फैसला माफियाको हितमा रहेको आरोपसहित नमान्ने घोषणा गरेका छन । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आइतबार डा शशि शर्मालाई प्राडा राकेशप्रसाद श्रीवास्तवलाई डिनमा नियुक्त गर्ने त्रिवि कार्यकारी परिषद्को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरेको थियो ।

केसीकै आन्दोलनका कारण शर्मालाई हटाएर श्रीवास्तवलाई नियुक्ति गरिएको थियो । ‘प्रधानन्यायाधीश गोपाल पराजुलीको यो फैसला जनताको विरुद्ध र मेडिकल माफियाको पक्षमा छ, जनताको स्वास्थ्यमा खेलवाड गर्दै माफियासँगको साँठगाँठमा आएको यस्तो फैसलालाई हामी मान्दैनौँ, स्वीकार गर्दैनौँ,’ केसीले भने, ‘अब म अदालतको विरुद्ध होइन, महाभ्रष्ट अनि जुडिसियल माफिया गोपाल पराजुलीको विरुद्ध लड्छु र न्यायालयमा बसेर माफियाकरण गर्ने पराजुली जस्तालाई निकालेरै छाड्छु ।’

डा केसीले आफूले अदालतलाई सधैँ सम्मान गरेको तर न्याय दिने काममा त्यहाँ बस्ने पात्रले अनुचित काम गर्दा हिम्मतका साथ आवाज उठाएको भन्दै आफ्नो अभियानले अदालतको अपमान नहुने जिकिर गरे । ‘प्रधानन्यायाधीशले आचरणविपरीत केही दिनका लागि भए पनि पुनर्बहाली गरेर माफियासँगको साँठगाँठ प्रमाणित गरेकोले प्रतिवाद गर्नै पर्ने बाध्यता आएको उनको दाबी छ । ‘यस्तो माफिया गोपाल पराजुली प्रधानन्यायाधीशको पदमा बस्न योग्य छैनन, त्यो पदको सम्मानका लागि गोपाल पराजुलीलाई हटाउनुपर्छ, आन्दोलनबाट उनलाई हटाएरै छाडिन्छ, जनताको आन्दोलनले कुर्सी छाडन बाध्य बनाउनेछ,’ केसीले भने ।

उनले प्रधानन्यायाधीश पराजुलीविरुद्ध आफूले पहिले पनि आवाज उठाएको भन्दै फैसलाले माफियासँगको साँठगाँठ रहेको भन्ने आफ्नो भनाइ पुष्टि गरेको दाबी गरे । ‘माफियासँगको साँठगाँठको थप प्रमाण आजको निर्णयबाट मिलेको छ, केसीले भने । अदालतको निर्णयको सम्मान गर्नुपर्दैन भन्ने जिज्ञासामा डा। केसी थप आक्रोशित बने । केसीले भने, ‘अदालतको गरिमा र सम्मान बढाउन फैसला मान्दिनँ भनेको हो, यस्तो फैसला आउन थाल्यो भने नेपाली जनताको अदालतप्रतिकै विश्वास सकिन्छ, मेरो आन्दोलन अदालतप्रति उच्च सम्मानसहित पदीय दुरुपयोग गरी माफियाकरण गर्ने प्रधानन्यायाधीशको कुर्सीमा रहेका गोपाल पराजुलीविरुद्ध हो ।’

उनले सर्वोच्चको फैसलाको विरोधमा आज पत्रकार सम्मेलतमार्फत आन्दोलन घोषणा गर्ने बताए । ‘हामी अाज १ बजे आन्दोलन घोषणा गर्छौं, महाभ्रष्टाचारी गोपाल पराजुलीलाई पदबाट नहटाएसम्म त्यो आन्दोलन जारी राख्छौँ,’ डा केसीले भने । आफू चिकित्सा स्वास्थ्य शिक्षाको शुद्धीकरणका लागि वर्षौंदेखि लड्दै आएको जनाउँदै केसीले त्यसलाई निरन्तरता दिने बताए ।

विशेष