विदेश

९२ वर्षिय नेता फेरि प्रधानमन्त्रीको दौडमा

९२ वर्षिय नेता फेरि प्रधानमन्त्रीको दौडमा

क्वालालम्पुर । मलेसियामा विपक्षी गठबन्धनले चर्चित पूर्वप्रधानमन्त्री महाथिर मोहमदलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ।

गठबन्धनले अगस्टमा हुने आम चुनावका लागि आइतबार ९२ वर्षीय महाथिरको नाम घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। वर्तमान प्रधानमन्त्री नजिब रज्जाक भ्रष्टाचारमा मुछिएपछि उनलाई विस्थापित गर्न विकासप्रेमी नेता महाथिर ९२ वर्षको उमेर प्रधानमन्त्रीको उम्मेदवार बन्न तयार भएका हुन्।

रज्जाकविरुद्ध आवाज उठाउने चर्चित विपक्षी नेता अनवर इब्राहिमलाई जेल हालिएको छ। यस्तो अवस्थामा महाथिरको उम्मेदवारी रज्जाकका लागि ठूलो खतरा मानिएको छ।

विपक्षी गठबन्धनका सचिव सैफुद्दिन अब्दुल्लाका अनुसार जेलमा रहेका नेता इब्राहिमकी पत्नी वान अजीजाह वान इस्माइल उपप्रधानमन्त्री पदकी उम्मेदवार बनेकी छन्।

२२ वर्ष मलेसियाको नेतृत्व गरेका महाथिर विपक्षी गठबन्धनले चुनाव जितेमा विश्वकै सबैभन्दा पुराना प्रधानमन्त्री बन्नेछन्। महाथिरलाई मलेसिया विकासको पिता मानिन्छ।

 

विशेष