डा केसीकाे बयान सकियाे, बहस भाेली, आज थुनामै राखिने
काठमाडौं । सर्वाेच्च अदालतले डा गोविन्द केसीको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ। अदालतको मानहानी मुद्दामा पक्राउ परेका केसीलार्इ मंगलबार विहान सर्वोच्च उपस्थित गराइएकाे थियाे ।
आज बयान लिए पनि बहस भने हुन नसकेपछि डा केसीलाई आज थुनामै राखिने भएको छ । डा केसीले अदालतमा बयानका क्रममा न्यायालयको अपमान गर्ने आफ्नो कुनै मनसाय नरहेको भन्दै आफ्नो लडाइँ न्यायलयको भ्रष्ट नेतृत्व र न्यायाधीशविरुद्ध भएको बताएका थिए।
उनले बयानमा भनेका थिए, 'प्रधानन्यायाधीश गोपाल पराजुलीले भ्रष्टाचार बढाउने काम गरे, त्यस विरुद्ध मेरो लडाइँ हो। मैले विज्ञप्ति मार्फत न्यायालयको आलोचना गरेकै छैन। भ्रष्टाचार विरुद्ध बोल्दा पक्राउ गर्ने कार्य किन गरियो ? अदालतको भ्रष्ट प्रवृत्तिविरुद्ध मेरो लडाइँ हो, म त्यसमा अडिग छु।'
साेमबार राति ८ बजे केसीलार्इ अनसन स्थलबाट प्रहरीले पक्राउ गरकाे थियाे । उनले प्रधानन्यायाधीश गाेपाल पराजुलीकाे राजीनामालगायतका माग राखेर १४ अाैँ अनसन सुरू गरेका थिए ।