उत्तर कोरिया शीतकालीन ओलम्पिक खेलमा सहभागी हुने
सोल । उत्तर कोरियाले दक्षिण कोरियामा आयोजना हुने शीतकालीन ओलम्पिक खेलमा सहभागी हुने बताएको छ।
दुई कोरियाबीच मंगलबार दक्षिण कोरियामा भएको वार्तापछि उत्तर कोरियाले सो जानकारी गराएको हो। उत्तर कोरियाले आफ्ना खेलाडी र प्रतिनिधिहरू फेब्रुअरीमा हुन लागेको सो शीतकालीन ओलिम्पिकमा सहभागी हुन पठाउने जनाएको हो।
वार्ता विशेषगरी यसै शीतकालीन ओलम्पिककै विषयमा केन्द्रित थियो। छलफलका विषयवस्तुहरुको सीमितता रहेको बताइएको छ।
दुई कोरियाका उच्च अधिकारीहरूबीच सन् २०१५ पछि पहिलो पटक वार्ता भएको हो।
वार्ता दक्षिण कोरियाको अधीनमा रहेको दुई कोरियाली सीमाक्षेत्रमा अवस्थित पानुमजोम नगरमा भएको हो। वार्ताको निष्कर्षबारे भने केही बताइएको छैन।