शान्ताका दुई चिन्ता: गरिबलाई साथ नदिने अदालतकाे साख र केसीकाे स्वास्थ्य
पूर्व सभासद शान्ता चौधरीले सामाजिक संजाल फेसबुकबाट आफूलार्इ दुर्इ कुरामा चिन्ता रहेकाे बताएकी छिन् । उनले अाफू न्यायालयकाे साख र प्रतिष्ठाकाे तथा डा गाेविन्द केसीकाे स्वास्थयकाे चिन्ता रहेकाे बताएकी हुन् ।
उनले भनेकी छिन्, ' मलाई दुईटा कुराको चिन्ता छ । एउटा हो न्यायालयको साख र प्रतिष्ठाको अर्काे हो डा. गोविन्द केसीको स्वास्थ्यको ।
म अदालतको आलोचना गर्दिन तर अदालत गरिबको हुन सकेको छैन । जो धनी छ, जोसँग पैसा छ उसले अदालतमा आफ्नो पक्षमा निर्णय गराउन सक्छ भन्ने धारणा जनतामा रहेको छ । यस्तो धारणा जनता आफैले बनाएका हुन् कि अदालतको निर्णयले बनाएको हो ? श्रीमानहरुले जवाफ दिनुपर्यो ।
डा. गोविन्द केसीले अदालतको अवहेलना गर्नुभएको हो भने कारवाही हुनैपर्छ । तर उहाँले अदालतमा भएका जेजस्ता काम र निर्णयहरुमा प्रश्न उठाउनुभएको छ, ती कुराहरुको जाँच हुनुपर्छ । जाँच हुँदा डा. केसी गलत ठहरिनुभयो भने कारवाही हुनुपर्छ । गलत ठहरिनुभएन र उहाँले उठाउनुभएको कुरा सत्य ठहरियो भने सम्बन्धित न्यायाधीशले सजाय भोग्नुपर्छ ।
अहिले जे भइरहेको छ यसले न्यायालयको प्रतिष्ठामा क्षति पुराएको छ र यसका लागि न्यायालयका अगुवाहरु नै दोषी देखिन्छन् । न्यायालयलाई बिगार्न पाइँदैन, न्यायालयलाई बदनाम बनाउन पाइँदैन । डा. केसीले अदालतको अवहेलना गर्नलाई नभएर अदालतको प्रतिष्ठा र विश्वशनीयता बढाउन अनशन बसेको देखिन्छ ।
न्यायालयलाई पवित्र बनाउनका लागि गरिने जुनसुकै काममा जनसमर्थन आवश्यक छ ।'