रेल दुर्घटनामा परी ६ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुदाँ त्यसमा सवार ६ जनाको मृत्यु भएको छ ।
साथै अन्य ३० घाइते भएका समाचारमा जनाइएको छ । उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुले सो समाचारको पुष्टि गरेका जानकारी दिइएको छ । सो दुर्घटना रैबेरली जिल्लामा अवस्थित हार्चापुर रेल स्टेसनको नजिकै भएको बताइएको छ ।
न्यु फरक्का एक्सप्रेस रेल सेवाको एक रेलका ८ वटा डब्बा रेलमार्गबाट बाहिर निस्किएपछि दुर्घटना भएको थियो । त्यसमा परी ६ जनाको ज्यान गएको छ भने अरु ३० घाइते भएका छन् । उक्त रेल सेवाका अधिकारीहरुले रेल दुर्घटनाको कारण खोजी भइरहेको जानकारी दिएका छन् ।
उक्त रेल दुर्घटनापछि भएको क्षति र उद्धार कार्यका दृश्यहरु स्थानीय टेलिभिजनहरुले देखाएका छन् । उक्त रेल भारतको राजधानी नयाँ दिल्लीबाट पश्चिम बंगालको माल्दा शहरतर्फ जाँदै गरेको थियो । रेल सेवाका अधिकारीले उक्त रेलको दुर्घटनाको छानबिनको लागि एक समिति गठन गरिएको जानकारी दिएका छन् ।