News प्रदेश ६

दसैंअघि नै कर्णालीमा चामल ढुवानी

दसैंअघि नै कर्णालीमा चामल ढुवानी

सुर्खेत । नेपाल खाद्य संस्थान सुर्खेतले दसैंअघि नै कर्णालीका सबै खाद्य डिपोमा चामल ढुवानी गरिसक्ने भएको छ । 

 

 

हुम्ला र डोल्पामा हवाई तथा बाँकी जिल्लामा स्थलमार्गबाट संस्थानले सहुलियत दरको चामल ढुवानी गरिरहेको छ । कर्णालीका उच्च पहाडी र हिमाली जिल्लामा दसैंतिहारका बेला खाद्यान्न अभाव हुन नदिन प्रभावकारी ढुवानी व्यवस्थापन मिलाइएको छ । 

 

 

संस्थानका सुर्खेत कार्यालय प्रमुख भीम थापाले असोज मसान्तसम्म कर्णालीका २३ वटै डिपोमा चामल ढुवानी गरिसक्ने बताउनुभयो । पछिल्लो पटक संस्थानको सुर्खेत गोदामबाट मुगुका लागि ६ सय क्विन्टल चामल पठाइएको छ । 

 

 

हुम्लाका लागि एक हजारमध्ये ५० क्विन्टल चामल हवाई मार्गबाट सदरमुकाम सिमकोट पु¥याइएको छ । प्रमुख थापाले डोल्पामा यस पटक एक हजार ७०० क्विन्टल चामल मौज्दात रहेको बताए । 

 

 


कालीकोट र दैलेखमा सुर्खेतबाट तथा जाजरकोटमा संस्थानको क्षेत्रीय कार्यालय नेपालगञ्जबाट खाद्यान्न ढुवानी भइरहेको छ । संस्थानले आफ्ना डिपोमार्फत जिरा मसिनो, सोना मनसुली र जापानी चामल सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ ।    

 

 

 

कर्णाली प्रदेशका १० जिल्लाभित्र सल्यान र सुर्खेत मात्र खाद्यान्नमा आत्मनिर्भर मानिन्छन् । यी दुईबाहेक बाँकी जिल्लाका सर्वसाधारणलाई वर्षेनी खाद्य संस्थानको भर पर्नुपर्ने बाध्यता छ । सुर्खेतमा सर्वसाधारणका लागि खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेशनले चाडपर्वलाई लक्ष्य गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । 

नेपाल खाद्य संस्थान कर्णाली

विशेष