राष्ट्रिय जनता दल नेकपामा समाहित

राष्ट्रिय जनता दल नेकपामा समाहित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीमा राष्ट्रिय जनता दल समाहित भएको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता सुवास नेम्वाङले दलका अध्यक्ष भरत महतोको नेतृत्वमा रहेका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन् ।

 

सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टी सर्लाहीका अध्यक्ष नागेश्वर साह पनि नेकपामा प्रवेश गरेका छन् । कार्यक्रममा महासचिव पौडेलले समाजमा अन्याय र विभेदको अन्त्य गरी मुलुकमा सामाजिक न्याय र समानता कायम गर्न पार्टीले सकारात्मक भूमिका निर्वाह गरेका कारण अहिले विभिन्न दल र जनताको विश्वास र आकर्षण पार्टीप्रति बढेको बताए । 

 

उनले पार्टीको आदर्श र राजनीतिक कार्यक्रमलाई जनताको सेवामा केन्द्रित गर्न निर्देशन दिँदै दलका विभिन्न नेता तथा कार्यकर्ताको अनुभवका आधारमा उनीहरुलाई उपयुक्त जिम्मेवारी दिइने प्रतिबद्धता व्यक्त गरे । 

 

जनता दलका अध्यक्ष महतो, राजपाका नेता साह र पिछडा वर्गका नेता मनइ महतोले मधेसमा सम्भ्रान्त समूहले निमुखा वर्गमाथि गरिरहेको जातीय विभेदको अन्त्यका लागि माक्र्सवादी चिन्तन आवश्यक रहेको बताउँदै नेकपाले मधेसी समाजको एकता र अखण्डताका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने विश्लेषणका आधारमा आफूहरु ऐतिहासिक पार्टीमा प्रवेश गरेको बताए ।

 

पिछडा वर्ग महासंघलाई पनि उक्त पार्टीमा समाहित गराइएको छ । उक्त महासंघलाई जनवर्गीय संगठनका रुपमा विकास गर्न आग्रह गरिएको छ ।
 

नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय जनता दल समाहित

संम्बधित खबर

विशेष