लोकप्रिय बन्दै ‘भक्का’को खाजा
झापा । झापाका आदिवासीको मौलिक परिकार ‘भक्का’को स्वाद सर्वसाधारणले रुचाएपछि यसको व्यापार फस्टाएको छ । राजवंशी समुदायले घरघरमा खाजाको रुपमा चामलको पिठोबाट बनाउने भक्का अब सडक पसलमा सबैभन्दा बढी बिक्री हुने बिहानी खाजा भएको छ ।
जाडो मौसम शुरु भएपछि झापा, मोरङ र सुनसरीका गाउँ र शहरमा भक्काको व्यापार फस्टाउने गर्दछ । धुलाबारीकी रुपसरी राजवंशी केही वर्षयता जाडो मौसममा चोकमा बसेर भक्का बेच्छिन् । यसबाट उनले परिवारको गुजारा चलाएकी छन् ।
‘हामी जाडो मौसममा सधैं चियासँग भक्काको खाजा खाने गर्छौं’, रुपसरीको पसलमा भक्का किन्न आएका मुस्लिम समाज झापाका अध्यक्ष अमिन अलीले भने,‘बच्चादेखि वृद्धासम्म सबैका लागि यो खाजा स्वस्थकर छ ।’
मेचीनगर–१० धुलाबारी मोडको सडक किनारमा २० वर्षदेखि भक्का बेच्दै आएकी ४७ वर्षीया रुपसरी बिहान ५ बजेदेखि १० बजेसम्म मात्र पसल चलाउँछिन् । उनको पसलमा भक्का खान राजनीतिक दलका नेतादेखि चिकित्सक, बुद्धिजीवीसमेत आउने गरेका छन् ।
पञ्चायती शासनविरुद्ध झापा विद्रोह गर्दा १७ वर्ष कारावास बस्नु भएका लोकतान्त्रिक योद्धा सानो दुर्गा अधिकारी पनि बिहानको हिँडाइबाट फर्किएर रुपसरीकै भक्का पसलमा आइपुग्छन् र भक्का किनेर खान्छन् ।
धुलावारी मोडमा मात्र रुपसरीको जस्तै भक्का पसल एक दर्जनभन्दा बढी छन् । बजारका सबै चोक र गल्लीमा यस्ता भक्का पसलले स्थानीयवासीलाई स्वादिलो मौलिक खाजा मात्र खुवाएका छैनन्, यसबाट हजारौंको जीविका समेत चलेको छ ।