News

पोखरामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन हुँदै

पोखरामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन हुँदै

पोखरा । चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहुँ व्यास गुफा परिसरमा आगामी कात्तिक महीनामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन गराइने भएको छ । 

 

 

वेद-अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा आगामी कात्तिक १ गतेदेखि ३० गतेसम्म (एक महीना) महामिलन गराउन लागिएको हो ।

 

 

 प्रतिष्ठानका मूल संरक्षक दामोदर बाबाका अनुसार विश्व ओमकार परिवारका ८८ हजार साधुसन्त एवं सर्वसाधारणको महामिलन गराउँदै व्यास क्षेत्रलाई विश्वकै वेद पूजनको मुख्यस्थल घोषणा गरिने छ । 

 

 

‘ओमकार परिवारलाई एउटै सूत्रमा बाँधी मानवीय भेदभाव, हत्या हिंसा र कुविचार परित्याग गरी एकाकार बन्दै वेदव्यासका परोपकारी भावलाई उजागर गर्नु नै महामिलनको मूल उद्देश्य हो,’ उनले भने । 

 

 

एक महीनाभर विशेष प्रवचनका साथै वेदसहित विभिन्न पुराण, रुद्री, चण्डी आदिको पूजा एवं पाठ पारायणका साथै वैदिक सनातन विधिअनुसार शालिग्राम तथा पञ्चायन देवताको षोडशोपचार विधिले पूजा गरिने आयोजकले जनाएको छ ।

 

 

प्रतिष्ठानको टोलीले पोखरासहित देशका प्रमुख शहर एवं धार्मिक तीर्थस्थलमा पुगी महामिलनको प्रचारप्रसारसहित साधुसन्तलाई आमन्त्रण गरिसकेको छ । 

 

 

साधुसन्तलाई एक पटक व्यासभूमि आमन्त्रण गरी यहाँको धार्मिक एवं सांस्कृतिक महत्वबारे प्रचारप्रसार समेत गर्ने प्रतिष्ठानको लक्ष्य छ । 
 

पोखरा साधुसन्त र भक्तजन

विशेष