अमेरिकी रक्षामन्त्रीलाई बिदा दिँदै राष्ट्रपति ट्रम्प
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री जिम म्याटिसलाई ‘डिमोक्र्याट जस्तो’ भएको भन्दै जिम्मेवारीबाट बिदा दिन सकिने बताएका छन् ।
म्याटिसलाई राष्ट्रपति ट्रम्पको मन्त्रिपरिषद्को केही स्थिर तथा स्वतन्त्र सदस्यहरूमध्ये एक सदस्यका रूपमा लिने गरिन्थ्यो । अमेरिकी पत्रिका सीबीएसलाई आइतबार दिएको अन्तर्वार्तामा के राष्ट्रपति म्याटिसलाई बिदा गर्न चाहनुभएको छ भन्ने प्रश्जमा उनलाई बिदा दिइनसक्ने सम्भावना पनि रहेको ट्रम्पले बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “मेरो विचारमा उहाँ डेमोक्रेटजस्तो हुनुहुन्छ त्यसैले उहाँले बिदा लिन पनि सक्नुहुन्छ ।”
“यद्यपि जनरल म्याटिस असल व्यक्ति हो । हामी सँगसँगै र राम्रो सम्बन्धका साथ काम ग¥यौँ । उहाँले छोड्न सक्नुहुन्छ । मतलव कुनै विन्दुमा सबैले छाड्नुपर्छ ।”
आफूले अवकाश प्राप्त जनरल म्याटिसलाई दुई दिन पहिले भेटेको बताउँदै उक्त अवसरमा भने उनलाई बिदा दिने विषयमा कुनै कुराकानी नभएको ट्रम्पको टिप्पणी थियो ।
ट्रम्पले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतबाट निक्की हेलीको राजीनामापछि आफ्नो मन्त्रीमण्डलमा केही परिवर्तन गर्न चाहेको बताएका थिए ।
उनले भने, “म परिवर्तन चाहन्छु । यो मेरो अधिकारको कुरा पनि हो । मसँग अहिले धेरै असाधारण व्यक्तिहरू प्रशासनमा आउन आतुर छन् । उनीहरूले अमेरिकी नागरिकको हितमा असाधारण काम गरेर देखाउने छन् ।”
“हामीसँग मन्त्रीमण्डलका उत्कृष्ट सदस्यहरू छन् तर केहीको कामप्रति म खुशी छैन उनीहरूको सट्टामा अन्य राम्रा व्यक्तिले मौका पाउन सक्छन् ।” एजेन्सी