बनेपामा धमाधम घर भत्काइँदै
काभ्रे । काभ्रेको सीमाना सुरु हुने साँगाबाट अतिक्रमण गरेर बनाइएका अनाधिकृत घरटहरा सोमबारबाट भत्काउन सुरु भएको छ । बनेपा नगरपालिका तथा सडक विभागले अरनिको राजमार्गको सीमानाभित्र पर्ने घर टहरा जती भत्काउन थालेको छ ।
सामानसहितका घर टहरा भत्काउन थालेपछि स्थानीयले विरोध गर्न थालेपछि केहीबेर साँगामा झडप समेत भएको थियो । स्थानीयले बिरोध गरेपछि २ घण्टा सामान सार्न समय दिइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिल जंग शाहले जानकारी दिए ।
भत्काउने अभियानमा ठूलो संख्यामा सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको छ । अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दाया बायाँ ७५ फिट सीमानाभित्र रहेका घर टहरा हटाउने निर्णय यसअघि नै गरेको थियो ।
घर टहराहरु हटाउन सडक विभाग, डिभिजन कार्यालय भक्तपुरबाट सूचना समेत जारी भइसकेको छ । तर त्यो बाहेक भने ८२ फिटको सीमाना तोकिएको छ ।
स्थानीयले भने सर्वोच्चले गरेको फैसला अनुसार पहिले क्षतिपूर्ति पाउनुपर्ने र तिहारसम्म नभत्काउन आग्रह गरेका थिए । उनीहरुले मुआब्जा आउनेबित्तिकै घरटहरा भत्काउन सहयोग गर्ने बताए ।
स्थानीय राजेन्द्र श्रेष्ठले क्षतिपूर्ति पाएपछि तथा दसैं तिहार मनाएपछि भत्काउन माग गरे । ‘सामानहरु सारेकै छैन, भन्ने वित्तिकै कसरी हुन्छ, क्षतिपूर्ति दिनुस, अनि भत्काउनुस’, स्थानीय बाबुकृष्ण श्रेष्ठले बताए ।