मोदीका सबै वडामा ज्येष्ठ नागरिक विश्रामस्थल
पर्वत । ज्येष्ठ नागरिकलाई दिउँसो पुनर्मिलन गराउनका लागि यहाँको एक गाउँपालिकाले ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण अभियान थालेको छ ।
मोदी गाउँपालिकाका सबै वडामा ज्येष्ठ नगारिक विश्रामस्थल बनाइने भएको हो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरुको दैनिकीलाई सहज बनाउने उद्देश्यले गाउँपालिकाका सबै वडामा एक एक विश्रामस्थल बनाउन लागिएको जनाएको छ । विश्रामस्थल निर्माणको शुरुआत भने मोदी गाउँपालिका–५ बाजुङबाट गरिएको छ ।
अनुभव र योगदानले भरिएका ज्येष्ठ नागरिकको सम्मान गर्नु स्थानीय सरकारको दायित्व भएकाले यस्तो अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताए ।
पौडेलले गाउँपालिकाले महिला, बालबालिका र ज्येष्ठ नागरिकको हकहितका लागि चालू आर्थिक वर्षमा विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्न लागेको जानकारी दिए ।
गाउँपालिकाले विश्रामस्थल निर्माणका लागि पहिलो चरणमा वडा नं ५ बाजुङका लागि रु तीन लाख विनियोजन गरेको थियो । गाउँपालिका प्रवक्ता विमल लामिछानेका अनुसार आगामी वर्षदेखि सबै वडामा विश्रामस्थललाई व्यवस्थापन गर्ने गरी बजेट विनियोजन गरिनेछ ।
सङ्घीय सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तामार्फत सहयोग गर्दै आएकाले स्थानीय तहबाट भने विश्रामस्थल निर्माण गरी ज्येष्ठ नागरिकका अनुभव सुन्ने र दिनचर्या कटाउन सहज बनाउने गाउँपालिकाको योजना रहेको लामिछानेको भनाइ छ ।
मोदी गाउँपालिकामा आठ वडा छन् । बाजुङबाट ज्येष्ठ नागरिक दिवसका अवसरमा सोमबारदेखि शुरुआत भएको योजना सबै वडामा विस्तार गरी एक वडा एक ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण अगाडि बढाइने गाउँपालिकाले जनाएको छ ।
पर्वत ज्येष्ठ नागरिक विश्रामस्थल