News अपराध सुरक्षा मुख्य समाचार

धमाधम बन्द भए पोर्न साइटहरू

धमाधम बन्द भए पोर्न साइटहरू

काठमाडौं । सञ्चार तथा सूचना, प्रविधिमन्त्रालयको निर्देशनअनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले पोर्न साइटहरू (अश्लील चलचित्र हेर्ने) धमाधम बन्द गरेका छन् । 


सञ्चार मन्त्रालयले गत असोज ५ गते दूरसञ्चारको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई अश्लील चलचित्र हेर्न मिल्ने साइटहरू पूर्णतयाः बन्द गर्न निर्देशन दिएको थियो । सञ्चार मन्त्रालयको निर्देशानुसार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई तत्काल पत्र पठाएर अश्लील साइटहरू बन्द गर्न थप निर्देशन दिएको थियो । 


प्राधिकरणको निर्देशनअनुरूप इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले अघिल्लो समयसम्म निःशुल्क हेर्न सक्ने पोर्न साइटहरूमाथि अहिले प्रतिबन्ध लगाएका छन् । गुगलमा पोर्न साइट सर्च गरेर कुनै एक वेबसाइटमा क्लिक गरेर हेर्न खोजिएमा इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले ‘तपाईंले अनुरोध गर्नुभएको वेब साइट बन्द गरिएको छ’ भन्ने सूचना प्रकाशन गरेको छ । 


वल्र्ड लिंकले जस्तै अन्य दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले पनि उस्तै प्रकृतिको सूचना प्रकाशन गरेका छन् । सूचनामा भनिएको छ, ‘आदरणीय ग्राहक महानुभाव, सञ्चार तथा सूचना, प्रविधिमन्त्रालय तथा नेपाल दूर सञ्चार प्राधिकरणको निर्देशनबमोजिम तपाईंले अनुरोध गर्नु भएको वेबसाइट बन्द गरिएको छ । थप जानकारीका लागि तल दिइएको लिंकमा क्लिक गर्नु होला ।’


सरकारले मुलुकमा महिला हिंसा, बलात्कार र यौनजन्य दुव्र्यवहारलाई रोकथाम गर्ने उद्देश्यले मुलुकी अपराध संहिता २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी यौनजन्य, अश्लील सामग्रीहरूको आदानप्रदान, प्रचारप्रसार, प्रकाशन तथा प्रसारणलाई बन्देज गर्ने निर्णय गरेको हो । 


इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले जनाएअनुसार तत्कालका लागि इन्टरनेट सेवा किनेका ग्राहकहरूले प्रत्यक्षतः अश्लील साइट हेर्न बन्द भए पनि ह्याकरहरूले फेरि दुःख दिन सक्ने सम्भावना भएको औंल्याएका छन् ।    

पोर्न साइट

विशेष