अन्धविश्वास तथा कुरीति नै महिला हिंसाको मुख्य कारणः मन्त्री थापा
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विविध सामाजिक परम्परा, धार्मिक अन्धविश्वास तथा कुरीति नै महिला हिंसाको मुख्य कारण भएको बताएकी छन् ।
स्विजरल्याण्डको जेनेभामा मंगलबार भएको ‘महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड)’को महिला, कानून तथा विकास मञ्चले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रममा नेपाल सरकारका तर्फबाट छैटौँ प्रतिवेदन प्रस्तुत गर्दै मन्त्री थापाले महिलाको अधिकार तथा मानव अधिकारको कार्यान्वयनमा नेपाल सरकार प्रतिवद्ध रहेको बताइन ।
त्यस्तै महिला हिंसा, समानता, लैङ्गिक विभेदको अन्त्य गर्दै समावेशी तथा समानतामूलक समाज निर्माण गर्न नेपाल सरकार कुनै पनि कसर चाल्न पछि नपर्ने जानकारी गराइन । उनले वर्तमान नेपालको संविधान महिलामैत्री भएको बताउँदै दक्षिण एशियाको नै उत्कृष्ट तथा मार्ग दर्शकका रुपमा रहेको समेत दाबी गरिन ।
नेपालको संविधानले शिक्षा, स्वास्थ्य, सञ्चार, सम्पत्ति, प्रजनन स्वास्थ्यलगायत कुरामा महिलालाई विशेष ध्यान दिएको बताउँदै राज्यका तीन तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित भएको जानकारी गराइन ।
सङ्घीयताको कार्यान्वयवनसँगै कानून तथा ऐन निर्माणका क्रममा रहेको र पूर्णरुपमा ऐन तथा कानूनको निर्माणपश्चात् महिला हिंसाको पूर्णरुपमा अन्त्य हुने दाबी गरिन । उनले नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली बनाउन महिलाको भूमिका अतुलनीय रहने बताउँदै आगामी दिनमा लैङ्गिक विभेदको खाडललाई अन्त्य गराउने उद्घोष गरिन ।
महिलालाई आर्थिकरुपमा सक्षम र सबल बनाउन वर्तमान सरकारले महिलामैत्री कार्यलाई लागू गर्ने तयारी रहेको बताउँदै ४० प्रतिशतभन्दा बढी सहकारीमा महिलाको नेतृत्व रहेको समेत मन्त्री थापाले जानकारी गराइन ।
उनले नेपालमा बढ्दै गएको बलात्कारका विषयमा नेपाल सरकार गम्भीर रहेको भन्दै आगामी दिनमा यस्ता प्रकारका आपराधिक क्रियाकलापमा संलग्न रहने जो कोहीलाई कठोर कानून निर्माणको प्रक्रियामा अघि बढिरहेको बताइन ।
उनले महिलाको श्रम सुनिश्चित गर्ने प्रक्रियामा रहेको बताउँदै श्रम शोषण, मानव बेचबिखन, यौन हिंसालगायत महिलाविरुद्ध हुने कुनै पनि प्रकारका आपराधिक क्रियाकलापलाई नेपाल सरकारले आगामी दिनमा पूर्ण रुपमा नियन्त्रण गर्ने आश्वासनसमेत दिइन ।