News

राहदानी सेवा लिने बढ्दै

राहदानी सेवा लिने बढ्दै

कपिलवस्तु । कपिलवस्तुमा द्रुत राहदानी सेवा अन्तर्गत राहदानी बनाउनेको सङ्ख्या क्रमशः बढ्दै गएको छ । द्रुतसेवा लिँदा राजश्व दस्तुर दोब्ब परे पनि सो सेवा लिनेहरु बढ्दै गएका छन् । जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय चार नम्बर र चन्द्रौटाले सो सेवा दिँदै आएको छ ।

 

चालू आर्थिक वर्ष २०७५/ ७६ को दुई महीनामा जिल्ला प्रशासन कार्यालयबाट एक हजार २ सय ९६ सिफारिश भएका राहदानीमध्ये ९ सय १५ जनाले बनाएका छन् । यस्तै इलाका प्रशासन कार्यालय बाणगङ्गाबाट दुई महीनामा ४८ वटा द्रुत राहदानी वितरण भएको छ । 

 

गत भदौ १५ गतेदेखि राहदानी वितरण गर्ने काम शुरु गरेको इलाका प्रशासन कार्यालय चन्द्रौटाले अहिलेसम्म द्रुत राहदानी १० थान वितरण गरेको छ । पछिल्लो दुई महिनामा मासिक सरदर एक हजार २ सयभन्दा बढीले राहदानी बनाएका छन् । तीन वटै निकायबाट आर्थिक वर्ष २०७४/ ७५ मा ६ हजार ५ सय ९६ सिफारिश भएका राहदानी फाराममध्ये ६ हजार १ सय २१ जनालाई राहदानी वितरण गरिएको छ ।

 

कपिलवस्तुबाट राहदानी बनाउनेहरु अधिकांश वैदेशिक रोजगारमा जानेहरु भएको जिल्ला प्रशासन कार्यालय तौलिहवाका प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिए । राहदानी बनाउनेमध्ये सबैभन्दा बढी खाडी मुलुक साउदी अरब र कतारमा रोजगारीका लागि गएको पाइएको छ । 

 

चालू आवमा नागरिकता बनाउनेको सङ्ख्या ह्वातै बढेको छ । आव २०७५/ ७६ को दुई महिनामा जिल्ला प्रशासन कार्यालयले चार हजार ३ सय नागरिकता वितरण गरेको छ । यसैगरी दुई महीनामा इलाका प्रशासन कार्यालय वाणगङ्गाबाट ६ सय ६४ र इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट एक हजार १ सय ९९ थान वितरण भएको छ ।

 

दैनिक रुपमा शुक्रबारबाहेक जिल्ला प्रशासन कार्यालयबाट ७०, इप्रका वाणगङ्गाबाट आठदेखि १० सम्म र इप्रका चन्द्रौटाबाट १५ देखि २० सम्म नागरिकता र राहदानी वितरण भइरहेको अधिकृत खनालले जानकारी दिए। पछिल्लो वर्ष वैदेशिक रोजगारीका लागि राहदानी बनाउने महिलाको सङ्ख्या बढिरहेको छ । 

द्रुत राहदानी सेवा अन्तर्गत राहदानी बनाउनेको सङ्ख्या बढ्दै

विशेष