मस्र्याङ्दी करिडोर प्रसारण लाइनको काम अघि बढ्यो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोर विद्युत् प्रसारण लाइन निर्माणका लागि ठेकदार छनोटको प्रक्रिया सुरु गरेको छ ।
मस्र्याङ्दी तथा त्यसका सहायक नदीमा निर्माणमा रहेका र निर्माणमा जाने तयारीका आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो । सो करिडोरमा एक हजार ६ सय मेगावाट क्षमताका आयोजना निर्माणक्रममा छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको र त्यस अवधिमा प्राधिकरणले सब स्टेसन तथा प्रसारण लाइन बनाइसक्ने प्रतिबद्धता यसअघि नै जनाइसकेका थिए ।
उनले केही महीनाअघि प्रसारण लाइन तथा त्यस भेगमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरी प्रसारण लाइन निर्माण प्रक्रिया सुरु भएको बताएका थिए ।
पर्ने मनाङ (धारापानी)–खुदी–उदीपुर (लमजुङ) प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि ठेकेदार छनोटका लागि ठेक्का सार्वजनिक गरेको छ ।
प्राधिकरणले मनाङको धारापानी र लमजुङको खुदी तथा उदिपुरमा पनि २२०÷१३२÷३३ केभीको सबस्टेसन निर्माण गर्नेछ । इच्छुक कम्पनीलाई आवेदन दिन १८ मङ्सिरसम्मको समयसीमा दिइएको आयोजनाले जनाएको छ । छनोट भएको कम्पनीले तीन वटा सबस्टेसन र धारापानी–उदिपुर करीब ४६ किलोमिटर प्रसारण लाइनको निर्माण गर्नेछ ।
उदिपुर–भरतपुर खण्डमा पर्ने करीब ६४ किलोमिटर प्रसारण लाइन निर्माण गर्न ठेकेदार छनोट गरी काम शुरु भइसकेको छ । युरोपेली लगानी बैंकको सहुलियतपूर्ण ऋणमा मस्र्याङदी करिडोर प्रसारण लाइनको निर्माण गर्न लागिएको हो ।
आयोजनाको अनुमानित लागत रु नौ अर्ब रहेको छ । यसको निर्माण आर्थिक वर्ष २०७८÷७९ मा सक्ने लक्ष्य छ । स्थानीयवासीले प्रसारण लाइन परिवर्तन गर्नुपर्ने माग राख्दै खुदी–उदीपुर खण्डमा पर्ने केही क्षेत्रमा विरोध गरिरहेका छन् । उनीहरुको मागलाई सम्बोधन गर्ने प्रयास भइरहेको छ ।
दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत् जोड्न ११ किलोमिटर स्थानीय कीर्तिपुर–उदिपुर १३२ केभी ‘डबल सर्किट’ प्रसारण लाइन बनाउन ठेक्का सम्झौता भई निर्माण शुरु भइसकेको छ ।
उदिपुरमा सबस्टेसन निर्माण गर्न ठेकेदार छनोट अन्तिम चरणमा पुगेकाले दोर्दी करिडोरमा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् खेर नजाने अवस्था देखिएको छ ।
उदीपुरमा सब स्टेसन र उदिपुर–मार्किचोक (तनहुँ) प्रसारण लाइन निर्माण भएमा दोर्दी करिडोरमा निर्माण भएका आयोजनाको विद्युत् प्रसारण प्रणालीमा जोड्न समस्या नहुने प्राधिकरणको भनाइ छ ।
कार्यकारी निर्देशक घिसिङले आयोजनाको एक युनिट विद्युत् पनि खेर जान नदिने र त्यसका लागि हरसम्भव सबै प्रयास गर्ने बताएयो ।
सो प्रसारण लाइनमा २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ए, पिपल्स हाइड्रोपावरको ४९ मेगावाटको सुपर दोर्दी ख लगायतका जलविद्युत् आयोजनाको विद्युत् जोडिनेछ ।