News

दसैंको समयमा उपत्यकामा १४ जनाको मृत्यु

दसैंको समयमा उपत्यकामा १४ जनाको मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा दसैंको समयमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । 

 

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएको दुर्घटनामा चालक तथा पैदलयात्रुको मृत्यु भएको हो । 

 

 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले तीव्र गतिमा जथाभावी सवारी साधन चलाएका कारण धेरै दुर्घटना भएको जानकारी दिए। ‘दसैंको समयमा सडक धेरै खाली हुने र तीव्र गतिमा सवारी हाँक्ने प्रवृत्तिले धेरै दुर्घटना हुने गरेको छ’ उनले भने । 

 

 

दसैंअगाडि महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ‘ट्राफिक र्यापिड स्कोइड’ अभियानसमेत सञ्चालनमा ल्याएको थियो । अभियानले दुर्घटना भएको ५ मिनेटभित्रै घटनास्थलमा पुगेर घटनाबारेमा अध्ययन गर्नाका साथै घाइतेलाई तत्काल अस्पतालसम्म लैजान सकिने व्यवस्था गरेको थियो ।

 

 

 

अभियानका लागि महाशाखाले ५५ वटा मोटरसाइकलमा ट्राफिक प्रहरी र जनपथ प्रहरी परिचालन गरेको थियो । हाल देशभर झण्डै ३२ लाख हाराहारीमा सवारी साधन सञ्चालनमा भएपनि काठमाडौं उपत्यकामा मात्र आठ लाख सवारी साधन सञ्चालनमा छन् ।

दसैं सवारी दुर्घटना

विशेष