विदेश

पुटिन र ट्रम्पको शिखर बैठक अर्को वर्ष 

पुटिन र ट्रम्पको शिखर बैठक अर्को वर्ष 

मस्को । रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को वर्ष शिखर बैठक गर्ने तयारी भएको छ । 

 

 

रुसको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार अमेरिकाको वासिङटनमा शिखर बैठक गर्ने गरी तयारी भएको हो । 

 

 

‘म निर्धक्क भन्न सक्छु कि त्यसका लागि हामी तयार छौं’ रुसको राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले पत्रकाररूसँग भने । 

 

 

 

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले अमेरिका र रुसबीच शिखर बैठक हुने सम्भावना रहेको बताएको केही समयपछि पेस्कोभको यस्तो भनाइ आएको हो । 

 

 

 

उनले यो विषय छलफलका लागि अझ बढ्दै जाने र अहिलेसम्म कुनै ठोस निर्णय भइनसकेको पनि स्पष्ट पारे । तर सम्भावित शिखर बैठकका लागि रुसका तर्फबाट भने तयारी भइरहेको प्रवक्ता पेस्कोभले जानकारी दिए । 

 

 

 

अमेरिकी सुरक्षा सल्लाहकार बोल्टन गत आइतबार मस्को आएका थिए । उनले रुस भ्रमणका क्रममा राष्ट्रपति पुटिन र अरू रुसी उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए ।

 

 

 

भ्रमण र भेटवार्तापछिको एउटा पत्रकार सम्मेलनमा सुरक्षा सल्लाहकार बोल्टनले पुटिनलाई भेट्ने ट्रम्पको चाहना रहेको बताएका थिए । एजेन्सी

डोनाल्ड ट्रम्प भ्लादिमिरि पुटिन शिखर बैठक

विशेष