News

चीतवनमा ४ महिनामा सात गैँडा मरे

चीतवनमा ४ महिनामा सात गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैंडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैंडा मरेका हुन् ।

 

 

 

उनका अनुसार गैंडाको बच्चालाई गोहीले खाएर, जुधेर, भालेले हानेर, दलदलमा फसेर, बुढो भएर र एउटा मृगौला एवं फोक्सोमा खराबी भएर मरेको हो । 

 

 

चोरी शिकारीबाट गैंडा मर्न पाएका छैनन् । ढकालका अनुसार गत वर्षको यही समयमा १२ गैंडा कालगतिले मरेका थिए । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गत वर्ष यो समयमा बाढीले चार गैंडा मरेका थिए ।

 

 

 

बाढीले बगाएर भारत पुर्याएका नौ गैंडा उद्धार गरी ल्याइएको थियो । नेपालकै सीमा क्षेत्रबाट बाढीले बगाएको एउटा गैंडा उद्धार गरिएको थियो । 

 

 

 

गैंडाको संख्या बढ्दै गएपछि कालगतिका कारण मर्ने संख्या पनि बढ्दै गएको अर्यालले बताए । गत आर्थिक वर्षमा कालगतिले २६ गैंडा मरेका थिए ।

 

 

 

यो संख्या हालसम्मकै उच्च हो । कालगतिका कारण मर्ने संख्या बढ्दै गएपछि निकुञ्ज विभागले अध्ययनसमेत थालेको छ । सन् २०१५ को गणनाअनुसार निकुञ्जमा ६०५ गैंडा रहेका छन् । 

चीतवन गैंडा मरे

विशेष