चार लाख लुट्ने असईलाई निलम्बन गर्न सिफारिस
काठमाडौं । जुवा खालबाट चार लाख रुपैयाँ लुटेको आरोप लागेका प्रहरी सहायक निरीक्षक (असई) विचित्र थापा मगरलाई निलम्बन गर्न सिफारिस गरिएको छ ।
काठमाडौं प्रहरी परिसरले बिहीबार थापालाई निलम्बन गर्न महानगरीय प्रहरी कार्यालयलाई सिफारिस गरेको हो। काठमाडौँको म्हैपीमा सञ्चालित एक जुवा खालमा पुगेर थापाले जुवा खालबाट चार लाख रुपैयाँ लिएर निस्किएको स्वयं जुवा सञ्चालकको उजुरीपछि परिसरले उनलाई नियन्त्रणमा लिएको थियो।
थापालाई बर्खास्तसम्म गर्ने तयारीमा परिसर रहेको छ। प्रहरीले उजुरी गर्ने काभ्रेका रितेश लामा र दिनेश पराजुलीलाई पनि पक्राउ गरी जुवा कसुरमा मुद्दा चलाएको छ। अन्य केही फरार रहेको परिसर स्रोतले जनाएको छ। दशैं चलिरहेका बेला थापा एक सिपाहीसहित उक्त जुवा खालमा पुगेका थिए।
थापाले सुरुमा जुवाको सबै पैसा नियन्त्रणमा लिए पनि पछि चार लाख रुपैयाँ साथमा राखेर बाँकी फिर्ता गरेका थिए। जुवा सञ्चालकहरुको उच्च प्रहरी अधिकृतसँग समेत साँठगाँठ रहेको स्रोतले बताएको छ।
प्रहरी सहायक निरीक्षक (असई) विचित्र थापा मगर निलम्बन गर्न सिफारिस