फोरम नेपालको महाधिवेशनको तयारी सुस्त
काठमाडौं । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अनउपस्थितिमा नेपाल महाधिवेशनको तयारीमा हुनलागेको छ । फोरमका अध्यक्ष वैदेशिक भ्रमणमा हुँदा महाधिवेशन तयारीका लागि बस्नुपर्ने बैठकहरु भने प्रभावित हुँदै आएको छ।
फोरम नेपालको महाधिवेशन माघ २८ गतेदेखि ३० गतेसम्म जनकपुरमा गर्ने निर्धारण गरिएको छ। महाधिवेशनको तीन महिनामात्र बाँकी हुँदासमेत तयारीले तीब्रता पाउन सकेको छैन।
फोरम नेपालका महासचिव रामसहाय यादवकाअनुसार नयाँ संरचनाअनुसार प्रदेश कमिटीहरु गठन गरिएको छ भने जिल्ला प्रतिनिधिहरु पनि तोकिएको छ। स्थानीय स्तरमा सदस्यता वितरणको कार्यलाई पनि तीब्रता दिइएको यादवले जानकारी दिए। ‘महाधिवेशनको तयारी भइरहेको छ। तर तीब्रता पाएको छैन,’महासचिव यादवले भने,‘ सक्रिय सदस्यता वितरण तथा वडा कमिटीहरु गठन भइरहेको छ।’
पार्टी सरकारमा सहभागी भएपछि अध्यक्ष यादव अधिकांश समय वैदेशिक भ्रमणमा रहने गरेकोले महाधिवेशन तयारी सम्बन्धी बैठक प्रभावित हुने गरेको फोरमका नेता उमाशंकर अरगडियाले बताए।
‘अहिले पनि अध्यक्ष ज्यूबाहिर नै हुनुहुन्छ। उनी फर्केपछि तयारी सम्बन्धी बैठक अगाडि बढ्नेछ, ’उनले भने,‘ क्षेत्रीय महाधिवेशनहरुका विषयमा अब बस्ने बैठकले निर्णय गर्नेछ।’
यादवको नेतृत्वमा विराटनगरमा २०५४ सालमा गैरसरकारी संस्थाका रुपमा स्थापित मधेशी जनअधिकार फोरमको स्थापना भएको थियो। पछि राजनीतिक दलमा परिणत भएको फोरम नेपालको पहिलो महाधिवेशन २०६० सालमा भएको थियो। २०६२dfjgh ०६३ को पहिलो मधेश आन्दोलनको नेतृत्व गरेको फोरम २०६४ सालको संविधानसभा चुनावमा ५२ सिट जितेर संविधान सभाको चौथो ठूलो दल बनेको थियो। फोरमको दोस्रो महाधिवेशन २०६५ सालमा वीरगञ्जमा भएको थियो।
अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गरेपछि फोरमको तेस्रो महाधिवेशन हुन लागेको हो।