News

२५ पूर्वकर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा

२५ पूर्वकर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका २५ पूर्वकर्मचारीसहित २७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली कागजात बनाएर बिनाभिसा कुवेतको श्रम स्वीकृति दिएको अभियोगमा अख्तियारले विभागको काठमाडौं कार्यालयका २५ जना कर्मचारी र दुई जना बिचौलियाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

 

उनीहरूले रोजगारीका लागि कुवेत जान चाहने १ सय ८४ जना महिलालाई भिसाबिनै श्रम स्वीकृति दिएको पाइएको अख्तियारका प्रवक्ता मदन कोइरालाले जानकारी दिए । उनका अनुसार २५ अगस्ट २०१७ देखि २५ अक्टोबर २०१७ सम्म श्रम स्वीकृति प्रदान गरिएकामध्ये १ सय ८४ जना महिलालाई नियम उल्लंघन गरी गलत कागजान बनाएको  पाइएको छ ।

 

गलत कागजातका आधारमा श्रम स्वीकृति लिएर कुवेत गएका ती महिला कुवेत पुगेपछि श्रम र शारीरिक शोषणमा परेका थिए । अख्तियारले विभागका शाखा अधिकृतहरू हरिप्रसाद देवकोटा, दीपकुमार आचार्य, गणेशविक्रम शाह, पवित्रा श्रेष्ठ, दिनेशकुमार राई र रामप्रसाद ओलीविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ ।

 

यसैगरी, नायब सुब्बाहरू अमरराज जोशी, विन्दु घिमिरे, रघुनाथ केसी, योगेन्द्र खत्री, विष्णुहरि निरौला, दिलबहादुर, मदन गिरी, खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भुसाल, नगेन्द्रप्रसाद गौतम, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे र केशवराज ढुंगानालाई पनि प्रतिवादी बनाइएको छ ।कम्प्युटर अपरेटरहरू चक्रबहादुर पराजुली, अमर महरा, डम्बबहादुर विश्वकर्मा, राजकुमार शाही र धनवीरसिंह भाटविरुद्ध पनि आरोपपत्र दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

 

यस्तै, गलत कागजात बनाएर श्रम स्वीकृति दिलाउन भूमिका खेल्ने बिचौलियाहरू राजीवकुमार पञ्जियार र विकास थापालाई पनि सहयोगी मतियारका रूपमा मुद्दा दायर गरिएको छ । उनीहरूले व्यक्तिगत स्वार्थका लागि मानवीय सुुरक्षाको समेत ख्याल नगरी गलत कागजात बनाएर वैदेशिक रोजगार ऐन, २०६४ विपरीत काम गरेको अख्तियारको ठहर छ ।

 

सोही विषयलाई लिएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेका वैदेशिक रोजगार विभागका २५ जना कर्मचारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि विगत ६ महिनाअघि नै आन्तरिक रूपमा कारबाही गरी अन्य स्थानमा सरुवा गरेको बताएको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका स्वकीय सचिव मदन खनालले यस्तो जानकारी गराएका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग वैदेशिक रोजगार विभाग भ्रष्टाचार मुद्दा दायर पूर्वकर्मचारीसहित २७ जना

विशेष